विदेशबाट आएका रामेश्वरलाई बीचैबाट अपहरण गरेर बन्धक बनाउने तीन जना पक्राउ — OSNepal

विदेशबाट आएका रामेश्वरलाई बीचैबाट अपहरण गरेर बन्धक बनाउने तीन जना पक्राउ

LC (KTM) January 18, 2022 0

काठमाडौँ, ४ माघ -विदेशबाट आएका व्यक्तिलाई बीच बाटैबाट अपहरण गरी बन्धक बनाएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको तारकेश्वर नगरपालिका–८ जरङ्खुका ३२ वर्षीय सञ्जोग राई, सोही ठाउँका रमेश अर्याल र मकवानपुरगढी गाउँपालिका घर भई हाल काठमाडौँ १६ वसन्तपुर बस्ने ३१ वर्षीय गोकुल घिमिरे रहेका छन् । उनीहरुलाई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको परिसरले आज एक सूचना जारी गरी जनाएको छ । सिरहाका ३० वर्षीय रामेश्वर राम दुबइबाट नेपाल फर्कने क्रममा विमानस्थलबाट बल्खुस्थित होटल कञ्चनजञ्घामा गई बसेका बेला अपरिचित व्यक्तिले अपहरण गरी लगेका थिए ।

उनीहरुले काठमाडौँ महानगरपालिका २७ ज्याठास्थित होटल प्लेजर होमको कोठामा बन्धक बनाई राखेकामा त्यहाँबाट भाग्न सफल भएपछि रामले प्रहरीमा उजुरी दिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुले पीडितलाई कुटपिट गरी चुरोटको ठुटाले पोलेर ज्यान मार्ने धम्की दिँदै यातनासमेत दिएका थिए । उनीहरुले रामको झोला र मोबाइलसमेत लगेका थिए । सोही उजुरीको आधारमा लामो अनुसन्धानपछि अपहरण गर्ने व्यक्तिको पहिचान गरी पक्राउ गरिएको परिसरले जनाएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर