• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

पृथ्वी राजमार्ग मर्मतमा करोडौँ खर्च,मर्मतको दुई महिना नबित्दै सडकभरि खाल्डैखाल्डा

पृथ्वी राजमार्ग मर्मतमा करोडौँ खर्च,मर्मतको दुई महिना नबित्दै सडकभरि खाल्डैखाल्डा


  • ओएसनेपाल
  • असोज १२ २०७८, मंगलबार
  • ३:५८ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < ४ मिनेट
  • 1.5K
    SHARES

    तनहुँ, १२ असोज-आर्थिक वर्ष सकिए पनि साउन पहिलो साता पृथ्वी राजमार्गको खैरेनीटार खण्डमा कालोपत्रे सडकलाई कालोपत्रेले टाल्न हतारो थियो । निर्माणमा खटिएका मजदुरले पानी पर्दा काम रोक्ने, घाम लागेपछि सुरु गर्थे ।एकातिर कालोपत्रेमाथि कालोपत्रे भइरहँदा त्यही राजमार्गको गाछेपानी-कोत्रे खण्डमा राजमार्गमै एम्बुलेन्स फस्ने दूरवस्था थियो । चौतर्फी आलोचना भएपछि सडक डिभिजन कार्यालय दमौलीले सडकमा भएका खाल्डाखुल्डी स्थानीय सामाग्रीले पुर्‍यो ।

    कालोपत्रेमाथि कालोपत्रे गरिएको सडक र माटोले खाल्डा पुरिएको सडकको अवस्था अहिले एउटै छ । मर्मतको दुई महिना नबित्दै सडकभरि खाल्डैखाल्डा बनेका छन् । पृथ्वी राजमार्गको कोत्रे, हलेदी, गाछेपानी, मालेबगर, थर्पु, गुणादी, घाँसीकुवा, छिर्कन, डुम्रे बजार क्षेत्रका सडकमा सानाठूला खाल्डा धेरै छन् ।

    कोत्रेदेखी गाछेपानीसम्म त खाल्डा मात्र नभएर सडकमा कालोपत्रे देख्नै मुस्किल हुन्छ । खाल्डासँगै बर्खायाममा ठाउँठाउँमा पहिरो झरेर अझ जोखिम बढाएको सवारी चालक बताउँछन् । कन्तबिजोग अवस्थाको सडकमा दैनिक हजारौँ सवारी चालक र यात्रुले कष्टकर यात्रा गर्न बाध्य भएका स्थानीयको भनाइ छ ।

    देशकै प्रमुख राजमार्गको अवस्था ग्रामीण सडकको भन्दा खत्तम रहेको ट्याक्सी चालक अमित श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘बिरामी लिएर पोखराका हस्पिटल पुग्न अप्ठ्यारो छ । भनेको बेलामा पुग्न सकिँदैन, खाल्डाखुल्डीमा गाडी चलाउँदा बिरामीलाई सास्ती ।’ उनका अनुसार वर्षात भए खाल्डामा पानी जमेर पोखरी जस्तै बन्छ, घाम लागेपछि बाटो नदेखिने गरेर बुङ्बुङ्ती धुलो उड्छ ।

    सरकारको लाचारीपनले पृथ्वी राजमार्गको अवस्था कहिल्यै सुधार नभएको उनको भनाइ छ । ‘सडक भत्किनेबित्तिकै बन्दैन । बनेपछि कस्तो भयो भनेर अनुगमन हुँदैन । ठेकेदारको मनोमानी चल्छ’, उनले गुनासो गरे ।

    पृथ्वी राजमार्गमा गाडी चलाउँदा असुरक्षित महसुस हुने गरेको अर्का सवारी चालक देव श्रेष्ठले बताए । ‘राजमार्ग भन्न पनि लाजमर्दो छ । दुर्घटनाको जोखिम बढेको छ । कसलाई गुनासो गर्ने हो ? निगरानी कस्ले गरिदिन्छ ? सडक डिभिजन सुतेर बसेको छ,’ उनले भने । भत्केको सडकमा बस गुडाउँदा चाँडै बिग्रने समस्याले मर्मतमा खर्च बढेको उनले सुनाए ।

    पछिल्लो केही दिनयता पृथ्वी राजमार्गका खाल्डा पुर्न थालिएको छ । गाछेपानी-कोत्रे खण्डमा सडक डिभिजनले आफ्नै मेसिन प्रयोग गरेर सडकको खाल्डा पुरिरहेको कार्यालयकी प्रमुख लक्ष्मी केसीले बताइन् । ‘यो सडक अहिले हाम्रो क्षेत्राधिकारमा पर्दैन । मुग्लिन-पोखरा चार लेन सडकलाई हस्तान्तरण गरिसकेका छौँ । आयोजनाको ठेकेदार फिल्डमा नआएकाले सडक डिभिजनको मेसिन र स्थानीय सामग्रीको प्रयोग गर्दै खाल्डा पुर्न थालेका हौँ,’ केसीले भनिन् ।

    क्षेत्राधिकारमा नपर्ने भएकाले पृथ्वी राजमार्ग मर्मतका लागि कार्यालयसँग बजेट उपलब्ध नभएको उनको भनाइ छ । सर्वसाधरणलाई सास्ती भएको देखेर बजेट नभए पनि दशैँ अगाडि सडकको खाल्डा पुर्ने केसीले जानकारी दिइन् ।

    पृथ्वी राजमार्गको मुग्लिन-पोखरा सडक एसियाली विकास बैंक (एडीबी)को सहुलियत ऋणमा चार लेनको बन्दै छ । चार लेन सडक बनाउनलाई दुई खण्डमा विभाजन गरेर ठेक्का प्रक्रियामा गइसकेको छ । १३ भदौमा सडक डिभिजनले मुग्लिन-कोत्रे सडक खण्डको जिम्मेवारी मुग्लिङ-पोखरा सडक योजनालाई दिएको केसीले जानकारी दिइन् ।

    चार लेन सडकको आँबुखैरेनी-जामुने पूर्वी खण्डको ४१.४५ किलोमिटर र जामुने-पोखरा ४५ किलोमिटरको दुई प्याकेजमा ठेक्का लगाइएको हो ।

    ५२ वर्षअघि रेखांकन भएको देशकै प्रमुख पृथ्वी राजमार्ग तनहुँमा ७२ किलोमिटर पर्छ ।यही सडक मर्मतका लागि मात्र गत आर्थिक वर्ष २०७७/०७८ मा एक करोड १७ लाख ७४ हजार ३६ रुपैयाँ खर्च भयो । अघिल्लो आव २०७६/०७७ मा पाँच करोड १८ लाख ४१ हजार १५५ रुपैयाँ खर्च भएको सडक डिभिजन कार्यालय दमौलीले जानकारी दिएको छ ।

    यसरी दुई वर्षमा मात्र सडक मर्मतमा ६ करोड ३६ लाख १५ हजार १९२ रुपैयाँ खर्च भएको छ तर सडकको अवस्था भने उस्तै छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend