एकलौटी बाटो तय गर्नेले पार्टीमा सबैलाई समेट्छु भन्नु हास्यास्पद — OSNepal

एकलौटी बाटो तय गर्नेले पार्टीमा सबैलाई समेट्छु भन्नु हास्यास्पद

LC (KTM) October 01, 2021 0

पाँचथर । पार्टी भित्र नक्कली र सक्कली छुट्याएर महाधिवेशनबाट राजनीतिक सँस्कार भएको जिम्मेवार नेतृत्व चयन गर्नु पर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का स्थानीय कार्यकर्ताको निष्कर्ष छ ।पाँचथरमा एकथरीको स्वेच्छाचारी प्रवृत्तिले पार्टी र कार्यकर्ताको भविष्य अन्योलमा परेको भन्दै तुम्बेवा गाउँपालिका परिषद भेलामा स्थानीय कार्यकर्ताले चिन्ता प्रकट गरे । पार्टी एकता र विधीमाथि प्रतिवद्ध जिम्मेवार नेतृत्वको राजनीतिक चरित्रमा जोड दिए ।

‘बाह्र बर्षमा खोला फर्किन्छ भने झैं राप्रपा जनताको ढुकढुकीमा बस्ने बेला आएको छ,’ कार्य सम्पादन सदस्य तथा प्रदेश नं १ का उपाध्यक्ष सगुन सुन्दर लावतीले भेलालाई सम्बोधन गर्दै भने ।‘सत्यलाई एक पटक, दुई पटक ढाक्न सकिएला तर, सदैव छेक्न सकिन्न । त्यसकारण राप्रपाको एजेण्डा जनतामाझ लोकप्रिय बन्ने क्रम जारी छ ।’

राप्रपाका केन्द्रीय सदस्य नरेशभक्त चाम्लिङले सम्बोधन गर्दै भने, ‘राप्रपाले प्रारम्भ देखि नै उठाउँदै आएको राजसंस्था र सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र प्रति जनसमर्थन बढ्दो छ । एकजुट भएको राप्रपाको भविष्य उज्वल छ ।’अधिवेशनको नाममा अवैध प्रक्रिया अवलम्बन गरेर शपथ खुवाउने, प्रमाणपत्र बाँड्ने र कार्यकर्तालाई झुक्याउनेहरु अन्ततः कार्यकर्ताबाटै तिरस्कृत हुने उनको भनाइ थियो ।

सम्बोधन कै क्रममा स्वर्गीय नेता पद्मसुन्दर लावतीको देन भुल्न नसकिने चाम्लिङले बताए ।जिल्ला सदस्य कमल कुमार राईले अध्यक्ष त्रयको निर्देशन विपरीत एकताको भावना अवमूल्यन गर्ने, निर्वाचन निर्देशिका मिच्ने क्रम पार्टीभित्र देखिएको भन्दै चिन्ता प्रकट गरे ।

एकलौटी बाटो तय गर्नेले पार्टीमा सबैलाई समेट्छु भन्नु हास्यास्पद रहेको राईको जिकिर थियो ।विधी मिचेर कसैले गल्ती गरेको भए कि त माफ माग्नु पर्यो, नत्र कार्यकर्ताले नसिहत दिने स्पष्ट छ, केन्द्रीय बुद्धिजीवी परिषदका सदस्य डा. डिल्ली चापागाईले भने ।कुम्मायक गाउँपालिका अध्यक्ष जगतजंगत लावतीले लामो दुख र कष्टबाट सिर्जित पार्टीलाई बिग्रहको बाटोमा जान दिन नहुने बताए । यसैकारण महाधिवेशनले असल र सक्षम नेतृत्व चुन्ने विश्वास व्यक्त गरे । सोही अवसरमा जनता समाजवादी पार्टी परित्याग गरी नयन्द्र लावतीले राप्रपामा प्रवेश गरेका थिए ।तुम्बेवा गाउँपालिका परिषद भेलाले देवीधर्म खड्का सहित गाउँ कार्य समितिलाई विधान अनुरुप निर्वाचित गर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर