अन्तिम चरणमा पुग्यो नयाँ बानेश्वरमा आकासे पुल,केही दिनमै पुल प्रयोगमा ल्याउने — OSNepal

अन्तिम चरणमा पुग्यो नयाँ बानेश्वरमा आकासे पुल,केही दिनमै पुल प्रयोगमा ल्याउने

LC (KTM) October 03, 2021 0

काठमाडौँ, १७ असोज – सडक वारपार गर्ने यात्रुको चाप बढी भएको चोकमा पर्ने नयाँ बानेश्वरमा आकासे पुल निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । थोरै काम मात्रै बाँकी भएकाले केही दिनमा नै पुल प्रयोगमा ल्याउन सकिने डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । पुलको मुख्य काम भइसकेकाले माथिल्लो भागमा बारको काम मात्रै बाँकी रहेको डिभिजन प्रमुख कुबेर नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “थोरै काम मात्रै बाँकी भएकाले दुईचार दिनमा नै सकिनेछ ।”

उपत्यकामा अहिले भइरहेका आकासे पुलभन्दा आकर्षक बत्तीका कारण यो पुल सुन्दर देखिनेछ । दसैँपहिले नै सो पुल सञ्चालनमा आउने डिभिजन प्रमुख नेपालीले बताउनुभयो । संरचनालाई लैङ्गिक समता र सामाजिक न्याय (जिइएसआई) मानिएको छ । बत्तीको उज्यालोका कारण बालबालिका र ज्येष्ठ नागरिकलाई रातको समयमा समेत हिँड्न सजिलो हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अँध्यारो हुँदा महिला हिंसाको जोखिम भए पनि पुलमा उज्यालो हुँदा त्यो कम हुनेछ ।”

यो पुलको लम्बाइ ३८ मिटर रहेको छ । विसं २०७६ वैशाखमा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । कोभिडका कारण गत वर्षहरुमा काम हुन नसक्दा तोकिएको अवधिभन्दा ढिला भएको हो । सुरुमा डिजाइनमा नै ढिला भएको र काम सुरु भएपछि कोभिडले गर्दा सरासर काम गर्न नसकिएको उहाँले बताउनुभयो । त्यसका लागि चाहिने सामग्रीको कारखाना सञ्चालन हुन सकेको थिएन । विशेष सीप भएका थोरै जनशक्ति आवश्यक हुने भए पनि तिनैलाई सङ्क्रमण भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यी सबै समस्याका बाबजुद अहिले सम्पन्न हुन लागेको छ ।”

झन्डै एक दशकभन्दा लामो समयदेखि नयाँ बानेश्वरमा पुल निर्माण गर्नुपर्ने भन्दै आवाज उठिरहे पनि बन्न सकेको थिएन । हाल संसद् भवन (वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) नजिकै भएकाले निर्माण अघि बढ्न सकेको थिएन । विभागले जडीबुटीसँगै सो चोकमा समेत ‘फ्लाई ओभर’ आवश्यकता भएको बताउँदै आएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर