जसको दशैँ सहयोगकै भरमा चल्छ , अवस्था बेहाल छ — OSNepal

जसको दशैँ सहयोगकै भरमा चल्छ , अवस्था बेहाल छ

LC (KTM) October 06, 2021 0

लमजुङ, २० असोज । सात पुस्ताअघि मकवानपुरको लोथरबाट वरबोट फाँटमा आएर बसोबास गर्दै आएको चेपाङ समुदायको जीवनशैली निकै कष्टकर रहेको छ ।

साँझ-बिहान हातमुख जोड्न धौधौ पर्ने चेपाङ समुदाय कतैबाट राहत पाउँदा खुसीको सास फेर्छन् । चेपाङ समुदायकी अगुवा अमृता चेपाङले कसैले खाद्यान्न र कसैले लत्ताकपडा सहयोग गर्ने गरेको बताइन् । ‘हामी दु:खी, गरिब छौँ, आर्थिक अवस्था कमजोर छ भनेर ल्याइदिएका होलान् । दशैँ, तिहार जस्ता चाड पनि अरूले ल्याइदिएको अन्नले मान्नुपर्छ’, उनले भनिन् ।

वरबोट फाँटमा नौ र हिलेटक्सारको भिरकुनामा दुई घर गरी जिल्लामा कुल ११ घर चेपाङको बसोबास रहेको छ । आर्थिक, शैक्षिक, स्वास्थ्य र रोजगारीका दृष्टिकोणले निकै पछाडि परेका चेपाङहरूको गुजारा सामान्य ज्याला मजदुरी, अधियाँ प्रथाको खेतीबाली, बाख्रा र कुखुरा पालनबाट चल्दै आएको ६५ वर्षीया सुकमान चेपाङ बताउँछन् ।

बासका लागि अधिकांशको घर छैन, कच्ची पर्खालमा जस्ताले छाएको अस्थायी टहरामा बस्दै आएका छन् । आफ्नै पर्याप्त जग्गा नहुँदा उनीहरू समस्यामा पर्ने गरेका छन् ।

सुकमानका अनुसार चेपाङका परिवार अझै पनि गिठा-भ्याकुर खाएर बाँच्नुपर्ने अवस्था छ । अचेल त्यही गिठा-भ्याकुर पनि पाउन मुस्किल परेको उनले बताए । ‘जग्गा जमिन छैन । हामी सबै अरूको काम गरेर खाने मान्छे हौँ’, उनले भने ।

उनले सहयोग पाएपछि मात्र बस्तीमा रमाइलोको रौनक छाउने बताए । बालबालिका कोही नाङ्गै, कोही झुत्रा र फोहोर लुगा बेरिएर बस्न बाध्य भएको उनले बताए । चेपाङ संघकी जिल्ला अध्यक्ष कल्पना चेपाङका अनुसार खान, लगाउनकै लागि चेपाङ समुदायलाई ऋण गनुपर्ने बाध्यता छ ।

धेरैजसो बालबालिका पढ्नमा भन्दा घरायसी कामकाज, ज्यालामा मेलापात, गाईबस्तुको गोठालो, भाइबहिनी हेर्ने काममा व्यस्त हुने स्थानीय गोविन्दराज पन्त बताउँछन् । अझै पनि गाउँमा सचेतनाको कमी रहेको उनको भनाइ छ ।

वर्षौंदेखि आर्थिक समस्या खेप्दै आएका चेपाङको जीवनयापनमा २०७२ वैशाखमा गएको भूकम्पले थप जटिलता निम्त्याएको पन्तले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर