उदयपुर, ५ मंसिर-उदयपुरको त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेब चौधरीलाई पुत्र शोक परेको छ । शनिवार साथीसँग (पिकनिक) बनभोज खान गएका पशु चिकित्सक २८ वर्षिय मनोज चौधरीको चौदण्डीगढी नगरपालिका– १० देबधार खोलास्थित भिमसेन थान मन्दिर नजिक डुबेर मृत्यु भएको हो ।
बिहान १० बजेतिर घरबाट साथीसँग पिकनिक खान गएका मनोज १ बजेतिर खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए । पिकनिक खाना १४ जना साथीहरु मिलेर गएका थिए । घटनास्थल मदन भण्डारी लोकमार्ग देबधारबाट करिब डेढ किलोमिटर माथि जंगलमा पर्दछ । घटना स्थलमा खोलाको पानी ४ फिटभन्दा बढी नभएको बताइएको छ ।
घटना कसरी भयो भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको छ । पिकनिक खान गएका साथीहरुकाअनुसार मनोज हराएपछि खोज्ने क्रममा खोलामा डुबेको अवस्था फेला परेको बताएका छन् । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाटमा राखिएको छ ।
कानुनी प्रक्रिया पुरा गरि आइतवार पोष्टमार्टम गर्ने तयारी गरेको छ । नगर प्रमुख चौधरीको एउटै छोरा हुन् भने उनी बेलका नगरपालिकामा पशु सेवा कार्यालयमा कार्यरत थिए ।