काठमाडौं ४ पुस । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले एमसीसी पास नगर्दैमा प्रधानमन्त्री शेरबहादुर देउवालाई केहि खतरा नभएको बताएका छन् । नेपाली बहस कार्यक्रममा सहभागी भएका पुर्व प्रधानमन्त्री समेत रहेका खनालले यस्तो टिप्पणी गरेका हुन् ।
‘एमसीसी पास नगर्दैमा देउवालाई कुनै खतरा छैन । ५ दलीय गठबन्धनसँग बहुमत छँदै छ नि । उहाँलाई मनको बाघले खायो होला । वनको बाघले खान सक्दैन ।’ उनले भने ।
गठबन्धनमा मतैक्यता नभएका विषयलाई थाती राख्नुपर्छ । एमसीसी लगायत विवादास्पद विषयलाई अघि बढाउन खोज्दा गठबन्धन विरोधीलाई फाइदा पुग्ने बताएका उनले देउवाले शक्तिराष्ट्रको दबाब र प्रभावमा काम गर्न नहुने पनि बताएका छन् ।
एमसीसीको विषयमा आफु चार घण्टा बोल्न तयार भएको बताएका उनले कार्यक्रममा अघि भनेका छन्, ‘संसद् खुल्यो भने एमसीसीबारे मैले चार घण्टा बोल्न पाउनुपर्छ । ‘
कार्यक्रममा नेता खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई पागल बाटोमा लगेको समेत टिप्पणी गरेका छन् ।