दिलमाया शाही/ जुम्ला, १८ वैशाख :
चन्दननाथ नगरपालिका-२ निवासी जीवन बुढ्थापा माओवादी केन्द्रका युवा नेता हुन् । उनले मेयर पदमा लागि उम्मेदवारी दिएका हुन् । बुढ्थापा २०५६ सालमा माओवादी युद्ध तातिएको समयमा काठमाडौंमा विद्यालयमा कक्षा ८ मा अध्ययन गर्दै जाँदा माओवादी निकट विद्यार्थीमा आबद्ध भएका थिए ।
सोही विचारका आधारमा युवा नेता बुढ्थापा कक्षा १० पढेको समयमा माओवादी विचारमा लागेको भन्दै २०५९ सालमा काठमाडौंमा नेपाली सेनाले गिरफ्तार गरेका थिए ।
वि.सं. २०५९ साल असार ३ गते गिरफ्तारी परेर नेपाली सेनाले ४४ दिनपछि नेता बुढ्थापालाई हनुमान ढोकामा जिम्मा लगाएको थियो । बुढ्थापाका अनुसार २२ दिन हनुमानढोका परिसर हुँदै १३ महिना जेल जीवन बिताएका थिए ।
त्यस्तै, शान्ति प्रक्रियापछि माओवादीको विभिन्न पदमा आबद्ध हुँदै आएका बुढ्थापाले काठमाडौंको जिल्ला कमिटी,नेकपा माओवादी केन्द्रको केन्द्रीय आयोजक कमिटी, राष्ट्रिय महाधिवेशन प्रतिनिधि, नेकपाको जिल्ला कमिटी हुँदै राजनीतिक क्षेत्रमा कार्यरत हुनुहुन्छ ।
उनी यसअघि कर्णाली माद्यामिक विद्यालय अनामनगरको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदा पनि लोकप्रिय काम गरेको दाबी गरे । उनी व्यवस्थापन समितिको अध्यक्ष हुँदा त्यो विद्यालय नमुना विद्यालय बन्न सफल भएको थियो । यसअघि बुढ्थापाले गरेका सामाजिक क्षेत्रका कार्यले गर्दा मेयर पदमा उम्मेदवारी दिँदा नगरवासीले ठूलो अपेक्षा गरेका छन् । बुढ्थापाले भने, ‘यस पटक पार्टीले युवालाई दिएको जिम्मेवारीको पूर्ण पालना गर्ने छु । यस कारण नगरवासीले आफूलाई मत दिने आशा र अनुरोध पनि गर्छु ।’
नेपाली कांग्रेस र माओवादीको रोचक प्रतिस्पर्धा हुने
यस पटक चन्दननाथ गरपालिकाका नेपाली कांग्रेस र माओवादीको रोचक प्रतिस्पर्धा हुने देखिन्छ । माओवादी र कांग्रेसको मात्रै होइन नेपाली कांग्रेसका बलिया नेता राजुसिंह कठायतको स्वतन्त्र उम्मेदवारी परेपछि कांग्रेसमा तरंग छाएको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रको तर्फबाट चन्दननाथ नगरपालिकामा नगरप्रमुखका उम्मेदवार जीवन बुढ्थापा मैदानमा उत्रिएका छन् । नगर उपप्रमुखमा पूर्णिमा विक रचनाको उम्मेदवारी परेको छ । माओवादीले युवा नेता बुढ्थापालाई प्राथमिकता दिएपछि नगरपालिकामा चर्चा परिचर्चा हुन थालेको छ ।
स्थानीय तह २०७४ को निर्वाचनमा मेयर नेपाली कांग्रेस र उपमेयर नेकपा माओवादी केन्द्रले विजयी हासिल पारेको थियो । माओवादीले युवा नेता बुढ्थापालाई नगरप्रमुखको टिकट दिएर मैदानमा उत्रेपछि नगरपालिकामा आफ्नो नेतृत्वको माओवादी केन्द्र पार्टी विजय हुने उनको दाबी छ ।