निर्वाचनमा कुनै अराजक गतिविधि हुन नदिन सीमा क्षेत्रमा निगरानी बढाइने — OSNepal

निर्वाचनमा कुनै अराजक गतिविधि हुन नदिन सीमा क्षेत्रमा निगरानी बढाइने

LC (KTM) April 22, 2022 0

विराटनगर, ९ वैशाख – आसन्न स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि प्रमुख निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै राजनीतिक दलहरुमा चहलपहल बढेको छ । मोरङको प्रमुख निर्वाचन अधिकृतको कार्यालय विराटनगरको नेपाल रेडक्रस सोइसाइटी भवनको परिसरमा स्थापना गरिएको छ भने अन्य निर्वाचन अधिकृतको कार्यालय प्रत्येक पालिकामा अलग अलग स्थापना गरिएको प्रमुख निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश भरत लाम्सालले जानकारी दिनुभयो । निर्वाचन नजिकिँदै गएपछि निर्वाचन कार्यालय र राजनीतिक दललाई भ्याइनभ्याइ भइरहेको अवस्था छ ।
प्रदेश नं १ मा कूल १३७ पालिकामा एक हजार १५७ वडा छन् । एक महानगरपालिका र दुई उपमहानगरपालिका रहेको प्रदेशमा कूल १३७ प्रमुख १३७ उपप्रमुख र एक हजार १५७ वडाध्यक्ष तथा चार हजार ६२८ वडासदस्य निर्वाचित हुने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

आगामी स्थानीय तहको निर्वाचनमा प्रदेश भरिमा नयाँ मतदाता तीन लाख ५१ हजार ६१० ले पहिलोपटक आफ्ना मताधिकार प्रयोग गर्ने भएका छन् । अघिल्लो निर्वाचनमा कुल २९ लाख ९३ हजार ७७४ ले आ–आफ्नो मताधिकार प्रगोग गरेका थिए । नेपालको संविधान २०७२ जारी भएपछि बनेका नयाँ राजनीतिक संरचनामा स्थानीय तहको यही वैशाख ३० गते हुने निर्वाचन दोस्रो हो ।

निर्वाचनलाई भयरहित, निष्पक्ष, स्वतन्त्र बनाउन प्रदेश निर्वाचन कार्यालयले जिल्लामा निर्वाचन अधिकृतको कार्यालयलाई विभिन्न अनुसूची, मतदाता नामावली (सादा), दस्तखत नमूना, नमूना मत पठाउने कार्य दुई दिन आगाडिदेखि सुरु गरेको छ ।गएको स्थानीय तहमा जनप्रतिनिधि भएका पालिका प्रतिनिधि उम्मेदवार सुनिश्चि हुने भएपछि राजिनामा पनि दिने कार्य तीव्ररुपमा अघि बढेको छ । विराटनगर महानगरपालिका–११ का वडाध्यक्ष नेकपा (एमाले) का तर्फबाट उम्मेदवार हुने सुनिश्चित भएपछि उहाँले राजीनामा दिएर आफ्ना राजनीतिक गतिविधि अगाडि बढाउनुभएको छ ।

प्रदेशका सम्पूर्ण स्थानीय तहमा निर्वाचन अधिकृत खटिएका र शनिबार प्रदेशभरि जिल्ला निर्वाचन अधिकृत तथा स्थानीय पालिका निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने जनाइएको छ । प्रदेशमा १६ लाख ९९ हजार ८०० पुरुष, महिला १६ लाख ४५ हजार ५६१ र २३ अन्य गरी जम्मा ३३ लाख ४५ हजार ३८४ मतदाताले निर्वाचनमा आफनो मताधिकार प्रयोग गर्ने भएका छन् । प्रदेशमा एक हजार ८७७ मतदानस्थल र चार हजार ५१ केन्द्र छन् । प्रदेशमा रहेका १४ जिल्लामा वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका मतदाताले मतदान गर्ने कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिनुभयो ।

जिल्लागत रुपमा हेर्दा ताप्लेजुङमा पुरुष ४७ हजार ५५ तथा महिला ४२ हजार २५ गरी ८९ हजार ६८० मतदाताले ७३ मतदान स्थल र १२२ मतदान केन्द्रमा मतदान गर्नेछन् । पाँचथरमा पुरुष ७३ हजार ५७८ तथा महिला ६६ हजार ६४८ गरी एक लाख ४० हजार २२४ मतदाता रहेका छन् । जिल्लामा १०१ मतदानस्थल र १७६ मतदान केन्द्र छन् ।

इलाममा पुरुष एक लाख ५५ हजार ५५४ र महिला एक लाख नौ हजार १९२ तथा अन्य दुई गरी जम्मा दुई लाख २४ हजार ७४८ मतदाता, १५१ मतदानस्थल र २८५ मतदान केन्द्र छन् । झापामा पुरुष तीन लाख २१ हजार ५२०, महिला तीन लाख २४ हजार ७०५ र अन्य नौ गरी जम्मा छ लाख ४५ हजार २३४ मतदाता, २८६ मतदान स्थल र ७५५ मतदान केन्द्र छन् । सङ्खुवासभामा पुरुष ६० हजार ६७८, महिला ५७ हजार ५३ गरी जम्मा एक लाख १७ हजार ७३१ मतदाताका लागि १०३ मतदानस्थल र १६२ मतदान केन्द्र निर्धारण गरिएको छ । तेह्रथुममा पुरुष ३६ हजार ९७३ र महिला ३५ हजार ९२२ गरी जम्मा ७२ हजार ८९५ मतदाता, ५७ मतदानस्थल तथा ९५ मतदान केन्द्र छन् ।

भोजपुरमा पुरुष ६५ हजार २२१, महिला ७० हजार ७०४ र अन्य एक गरी जम्मा एक लाख २५ हजार ९२६ मतदाताका लागि ८७ मतदानस्थल र १६० मतदान केन्द्र तोकिएका छन् । यस्तै धनकुटामा पुरुष ५७ हजार ७१६, महिला ५८ हजार २४८ गरी जम्मा एक लाख १५ हजार ९६४ मतदाता, ११८ मतदानस्थल र १५९ मतदान केन्द्र कायम गरिएको बताइएको छ ।

मोरङमा पुरुष तीन लाख ६३ हजार ४४८, महिला तीन लाख ५१ हजार ७६९, अन्य छ गरी जम्मा सात लाख १५ हजार २२३ मतदाताका लागि जनाले ३०० मतदानस्थल ३०० र केन्द्र ८२० कायम गरिएको छ । सुनसरीमा पुरुष दुई लाख ६९ हजार १४६, महिला दुई लाख ७५ हजार ७१७ र अन्य दुई गरी जम्मा पाँच लाख ३४ हजार ७६५ मतदाताका लागि १६६ मतदानस्थल तथा ५८१ केन्द्र निर्धारण गरिएको छ ।सोलुखुम्बुमा पुरुष ४१ हजार २६०, महिला ३८ हजार ७५९ गरी जम्मा ८० हजार १९ का लागि १२२ मतदानस्थल र १३४ केन्द्र व्यवस्था गरिएको छ । खोटाङमा पुरुष ७५ हजार छ र महिला ६८ हजार ७४६ गरी एक लाख ४३ हजार ७५२ का लागि १३६ मतदानस्थल र १९४ केन्द्र तोकिएको छ ।

ओखलढुङ्गामा पुरुष ५९ हजार १६२, महिला ५७ हजार ९२२ र अन्य एक गरी एक लाख ७० हजार ८५ मतदाताका लागि ७९ मतदान स्थल र १५० केन्द्रमा मतदान गर्ने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ । यसैगरी उदयपुरमा पुरुष एक लाख १२ हजार ८८५, महिला एक लाख १० हजार २५१ र अन्य दुई गरी दुई लाख २३ हजार ३८ ले ९८ मतदानस्थल र २५८ मतदान केन्द्र प्रयोग गर्ने भएका छन् । प्रदेशमा सबैभन्दा बढी मतदाता मोरङमा सात लाख १५ हजार २२३ रहेका छन् भने सबैभन्दा कम तेह्रथुममा ७२ हजार ८९५ रहेको जनाइएको छ ।

एकमात्र महानगरपालिका रहेको प्रदेशको विराटनगर महानगरपालिमा पुरुष ७० हजार ५२४, महिला ६२ हजार ७१८ गरी एक लाख लाख ३३ हजार १४२ मतदाताका लागि मतदानस्थल २९ र मतदान केन्द्र १४० छन् । मोरङमा एक लाख ४० हजार नयाँ मतदाता थपिएका छन् । त्यसमा पुरुष ७१ हजार ९५४, महिला ६८ हजार ७६४ र अन्य छ छन् भने महानगरपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनभन्दा यस वर्ष पुरुष नौ हजार ९९८ र महिला नौ हजार ३९३ गरी १९ हजार ३९१ मतदाता थप भएका छन् ।

प्रमुख निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश लम्सालले निर्वाचन कार्यालयबाट सम्पादन हुने काम निकै सहज बनाउने प्रतिबद्धता व्यक्त गर्दै निर्वाचन निष्पक्ष, भयरहित, स्वतन्त्र र धाँधलीरहित सम्पन्न गर्न सबैको साथ सहयोगको आवश्यकता औँल्याउनुभयो । र्वाचनलाई उत्साहमय बनाउन तथा स्वतन्त्र, भयरहित, निष्पक्ष, मितव्ययीता एवं धाँधलीरहित सम्पन्न गर्नका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखले मतदानस्थल र मतदान केन्द्रहरुको अनुगमन एवं निरीक्षण गरी सुरक्षाका सबै उपाय अपनाउने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताउनुभयो ।
उहाँले निर्वाचनका दिन मतदान केन्द्र र मतदानस्थललाई भयरहित एवं सुरक्षाको पूर्ण अनुभूति दिलाउन तीन घेरामा जनपद प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना रहने तथा कुनै अप्रिय घटना हुने सम्भावना भएमा आधा घण्टाभित्र सेना सहितको सुरक्षा टोली पुग्ने तयारीका साथ अघि बढिरहेको जानकारी दिनुभयो ।

प्रजिअ दाहालले मोरङमा खुला सीमा पनि रहेको र नजिकिँदै गएको निर्वाचनमा कुनै पनि अराजक गतिविधि हुन नदिन सीमा क्षेत्रमा प्रहरीको निगरानी बढाउने तयारीका साथ अघि बढिरहेको जानकारी दिनुभयो । प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन कास्यप अधिकारीले आगामी निर्वाचनका लागि सबै कार्यक्रम र तालिका सार्वजनिक भइसकेको जानकारी दिँदै निर्वाचनमा नागरिकदेखि राजनीतिक दल, उम्मेदवार, सुरक्षा निकाय र मतदातासमेतले निर्वाचन आचारसंहिता पालनामा इमान्दारिता देखाउनुपर्र्ने कुरामा जोड दिनुभयो ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर