पार्वती भन्छिन् “विदेशमा नेपाली दाजुभाइको सहयोग पाइएला भनेको त ‘लभ’ पो गरौं भन्छन्’ !

Posted By OS Nepal || Date: 2 December, 2016

काठमाडौं । विदेशबाट फर्केकी आमाजु दिदीले कुवेतमा काम राम्रो छ भनेपछि पार्वतीले विदेश जाने सोच बनाउनुभयो । पार्वतीका तीन जना जेठानी देउरानी त अहिले पनि विदेशमा छन् । त्यसैले उहाँले रोजगारीका लागि विदेश कसरी जाने भन्ने कुरा कसैलाई सोध्नु पर्दैनथ्यो । छनलाई पार्वती र उहाँका श्रीमान् मुकुन्द अधिकारीको त्यति धेरै ऋण पनि थिएन । जग्गा बन्धकीमा राखेको ४० हजार रुपैयाँ तिर्नु थियो ।16113031e5

अर्काको बच्चा च्यापेर नेपाल–भारत सिमाना पार
आमाजु दिदीले सहयोग गरेपछि पार्वतीले श्रीमान्लाई नै थाहा नदिई पासपोर्ट बनाउनुभयो । विदेश हिँड्ने बेलामा मुकुन्दले उहाँलाई रोक्ने थुप्रै प्रयास गर्नुभयो । तर केही सिप नलागेपछि मुकुन्दले दिदीको भर परेर श्रीमतीलाई विदेश जाने अनुमती दिनुभयो । तीस हजार रुपैयाँ तिरेर पार्वती कुवेत पुग्नुभयो ।
तर त्यहाँ पुग्न आमाजु दिदीले भने जस्तो सजिलो थिएन । अवैधानिक रुपमा भारतको बाटो हुँदै उहाँ त्यहाँ पुग्नुभएको हो । पार्वतीसित अरु दुईजना महिला पनि थिए । नेपाल–भारतको सिमाना काटेर दिल्ली पुग्न दलालले अनेक प्रपञ्च रचेका थिए । त्यसबेलाको कुरा सुनाउँदै उहाँले भन्नुभयो ‘आफ्नो हो भन्दै अर्काको बच्चा च्यापेर बोर्डर पास भयौं । लुम्बिनी घुम्न आएको भनेर पुलिसलाई ढाँट्यौं ।’
सिमाना पार गर्दा आइपर्ने झञ्झटबारे दलालले पहिल्यै उनीहरुलाई जानकारी गराएको थियो । ‘यहाँ प्रहरी हुन्छन भनेर पहिल्यै जानकारी दिन्छन् । दिल्ली पुगेपछि यसो गर्नु, उसो गर्नु भने सिकाएका थिए ।’
दिल्लीमा एकरात बसेपछि अर्को दिन उनीहरु कुवेतका लागि उडे । तर त्यहाँ काम दिने घरमालिक उनीहरुलाई लिन तत्कालै आएनन् । पार्वतीले कुवेतको जेलिवस्थित एक घरमा मासिक ३५ दिनारमा काम गर्न सुरु गर्नुभयो । एकवर्षपछि तलब बढेर ४० दिनार अर्थात १४ हजार रुपैयाँ पुग्यो ।
कुवेतमा घरको काम गर्न त सजिलै थियो, तर श्रीमान्, छोराहरु र परिवारको सम्झनाले धेरै चिमोट्थ्यो पार्वतीलाई । उहाँसित मोवाइल थिएन । श्रीमान र बुबाले फोन गर्दा पनि घरमालिकले बोल्न नदिने । घर बाहिर निस्कनुपर्दा पनि साहु साहुनीसँग मात्रै निस्कन पाइने । मालिकले नै नेपालमा पैसा पठाइदिने ।
तीन वर्ष कुवेतमा बसेर फर्कदा पार्वतीको हातमा अढाई लाख रुपैयाँ थियो । त्यो पैसाले ४० हजार रुपैयाँ ऋण तिरियो । अरु पैसा र छोराहरुको पढाई खर्चमा सकियो । विदेश हिँड्दा ६ र ७ वर्षे दुई छोरा अहिले ९ र १० वर्षका भए ।
हुनलाई कुवेतको काम एक किसिमको जेल जस्तै थियो । परदेशमा आफ्नैले पनि सहयोग नगरेको अनुभव छ पार्वतीसित । ‘विदेशमा सबै नेपाली दाजुभाइ आफ्नै जस्ता लाग्छन् । तर उनीहरुले सहयोग गर्दैनन् । बरु लभ गरुँ भन्नेहरु पो धेरै थिए ।’
बरु पार्वतीलाई लागेको छ, इमान्दार र लगनशिल हुँदा विदेशका घर मालिकले मन पराउँछन् । उहाँको बुझाईमा नेपालले कुवेतसित श्रम सम्झौता नगर्दा नेपाली कामदारले तलब सुविधा कम पाएका हुन् ।

विदेश बस्दा मन शान्ति कहिल्यै भएन
पार्वती अहिले जिल्ला शिक्षा कार्यालय मकवानपुरमा कार्यालय सहयोगी रुपमा काम गर्नुहुन्छ । त्यहाँ काम गर्दा मासिक झण्डै १३ हजार रुपैयाँ तलब आउँछ ।
विदेशको रोजगारी गरेर फर्केपछि अहिले पनि पार्वतीसित छेलोखेलो हुने गरी पैसा त छैन् । श्रीमान्को अलिकती कमाई र उहाँले कमाएको पैसाले परिवार चल्छ । विदेश गएपनि खासै कमाई भएन । बाबुको मात्रै साथमा रहँदा छोराहरुले पनि खासै राम्रो पढ्न सकेनन् ।
त्यसैले अब दोहोर्याएर विदेश जाने सोच छैन् पार्वतीको । उहाँले भन्नुभयो ‘परदेशमा श्रीमान्, छोराहरु र परिवार नसम्झेको दिन हुँदैनथ्यो । मन शान्ति कहिल्यै भएन । भनेजस्तो पैसा पनि कमाई भएन ।’
कहिलेकाहीँ विदेश जाने कुरा उठ्दा पार्वतीका श्रीमान् मुकुन्दले भनिहाल्छन् ‘भो अब त्यस्तो कुरा नगर ।’ हुन पनि तीन वर्ष विदेश बसेर फर्केकी पार्वतीलाई मुकुन्दले कहिल्यै हेला गरेनन् । स्रोत– उज्यालो अनलाईनबाट

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!