भजनीमा बसपार्क नहुँदा सवारीसाधन सडकमै पार्किङ गर्नुपर्ने बाध्यता — OSNepal

भजनीमा बसपार्क नहुँदा सवारीसाधन सडकमै पार्किङ गर्नुपर्ने बाध्यता

LC (KTM) August 28, 2022 0

भजनी, १२ भदौ- कैलालीको भजनी नगरपालिकाको एक महत्वपूर्ण समस्या हो बसपार्क । जिल्लाको पुरानो सदरमुकामसमेत रहेको भजनीमा सवारीसाधन पार्किङका लागि बसपार्क छैन । कतै त्यस्तो अन्य निजी पार्किङस्थलसमेत छैन । बसपार्क नहुँदा सवारीसाधन सडकमै पार्किङ गर्नुपर्ने बाध्यतामा सवारी चालक छन् ।

बसपार्क नभएकै कारण रातभर बस सडकको किनारमै पार्किङ गर्नुपरिरहेको बसचालक कृष्ण चौधरी बताउनुहुन्छ । “बिहानै धनगढीका लागि भजनीबाट पालो पर्छ । राति भजनीमा बस्नुपर्छ ।” उहाँले भन्नुभयो, “रातभर बस सडकमा पार्किङ गर्नुपर्छ । रातको समयमा बसमा कसैले आक्रमण गर्ने हो कि भन्ने डर मनमा भइरहन्छ ।” खुला सडकमा बस पार्किङ गर्नुपर्दा व्यवसायी निकै डराउने गरेका छन् । उहाँले कैयौं सवारीधनी भजनी रुटबाट सवारी चलाउनै नमान्ने गरेको बताउनुभयो ।

रातिका समयमा कतै आफ्नो सवारीसाधन तोडफोड हुने हो कि भन्ने त्रास रातभर हुने गरेको सन्तोष कठरिया बताउनुहुन्छ । “बिहानै भजनीबाट पालो परेको दिन साँझ भजनी गएर रात बस्नुपर्छ । आफ्नो बसाइ सुरक्षित भए पनि बस सडकमा पार्किङ गर्दा ध्यान रातभर सडकमै हुन्छ”, उहाँले भन्नुभयो, “बसपार्क भजनीका लागि निकै आवश्यक छ । आज बसपार्क नभएकै कारण बस व्यवसायी भजनी आउन नै मान्ने अवस्था छैन ।” अहिले भजनीबाट छोटो दूरीमा धनगढी, नेपालगञ्ज र लामो दूरीका लागि काठमाडौँसम्मका लागि बस छुट्ने गरेको छ । छोटो दूरीमा २० देखि आधा घण्टाको फरकमा बस छुट्ने गरेको छ ।

पूर्व–पश्चिम राजमार्गको सुखडबाट करिब २० किलोमिटरभित्र रहेको भजनी पुग्ने सडकको अवस्था पनि निकै नाजुक छ । एकपटक कालोपत्र भइसकेको सडकको अहिले पुनः मर्मतसम्भार भइरहेको छ । एकातिर सडकको समस्या र अर्को पार्किङको समस्याले भजनी बजारले विकासमा फड्को मार्न नसकेको स्थानीय भोजराम चौधरी बताउनुहुन्छ ।

बसपार्क नभएकै कारण बजार क्षेत्रमा पार्किङको समस्या भएपछि दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ । दैनिक सवारी चाप बढ्दै गएको छ । भजनी बजारमा व्यवसाय गर्दै आउनुभएका हरि देवकोटाको पसलको अगाडि प्रायः सवारीसाधन पार्किङ हुने गरेका छन् । पसलको अगाडि सवारीसाधन पार्किङ हुँदा व्यवसायमा समेत असर परेको उहाँ बताउनुहुन्छ । “व्यवसायमा त असर परेकै छ, कैयौँ दुर्घटना आँखा अगाडि भएका पनि छन्”, उहाँले भन्नुभयो, “विकल्प छैन, सवारी चालक पनि रहरले नभई बाध्यताले पार्किङ गर्दै आएका छन् । ट्राफिक प्रहरी पनि निरीह बन्नुपरेको छ ।” उहाँले बसपार्क नभएकै कारण भजनी क्षेत्रबाट सार्वजनिक सवारीसाधनको आवागमनमा कमी आएको भन्दै त्यसलाई स्थानीय सरकारले गम्भीरताका साथ लिनुपर्ने बताउनुभएको छ ।

नगरपालिकाले बसपार्कका लागि महुल्याल सामुदायिक वनको खाली जग्गा प्रयोग गर्ने निर्णय गरेको थियो । सो निर्णय अहिलेको जनप्रतिनिधिले खोज्दा नभेट्टाएको नगरप्रमुख केवल चौधरीले जानकारी दिनुभयो । उहाँले भजनीको सबैभन्दा ठूलो समस्यामध्ये बसपार्क निर्माण नै भएको बताउनुभयो । “हामीसँग जग्गा भएको भए पनि सहजै काम अगाडि बढाउन सकिने अवस्था थियो । जग्गा छैन, कहाँ, काम कसरी अगाडि बढाउने ?” उहाँले भन्नुभयो, “अहिले जग्गाको खोजी गरिरहेका छौँ । सम्भवतः जग्गा पाएलगत्तै बसपार्क निर्माणको प्रक्रिया अगाडि बढाउँछौँ ।”

उहाँले बसपार्क निर्माणका लागि धेरै बजेट चाहिने र नगरपालिकाको बजेटले निर्माण सम्भव नभएको जनाउँदै यसका लागि सङ्घीय सरकारसँग समन्वय पनि भइसकेको जानकारी दिनुभयो छ । “हामीले सङ्घीय सरकारसँग बजेट माग गरेका छौँ, उहाँले जग्गा यकिन भए बजेटमा समस्या नहुने प्रतिक्रिया दिनुभएको छ”, नगरप्रमुख चौधरीले भन्नुभयो, “बसपार्कको विषयमा हामी निकै गम्भीर छौँ, लागिरहेका छौँ । आशा गरौँ बसपार्क निर्माण हाम्रै पालामा हुन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर