सहकारीले गर्दा सर्वसाधारणलाई दशैं मान्न सकस ! — OSNepal

सहकारीले गर्दा सर्वसाधारणलाई दशैं मान्न सकस !

LC (KTM) August 29, 2022 0

अनुसा थापा- नेपालीहरुको महान चाड दशैं आउन अब एक महिना मात्र बाँकी छ । दशैं लागेसंगैं किनमेल गर्नेको भीड पनि उत्तिकै हुन्छ । यसबेला सर्वसाधारणलाई सबैभन्दा धेरै रकमको खाँचो पर्दछ । वषौंभरि कमाएको पैसा थोपाथोपा गरी सर्वसाधारणले सहकारीमा पैसा जम्मा गरेका छन् । तर, सहकारी नै डुबेपछि बचतकर्ताहरु अलपत्र परेका हुन् । चाडबाडलाई खर्च हुन्छ, घरखर्च टर्छ भनेर अलिअलि गरेर जनताहरुले खाईनखाई बचत गरे । अहिले उक्त बचत नै जोखिममा परेको छ ।

सहकारीमा समस्या देखिन थालेपछि जनता पनि पिरोलिएका छन् । दशैं कसरी मान्ने भन्ने पीरले उनीहरुलाई सताएको छ । किनमेल गरेर बेलैमा गाउँ फर्किऊ भन्नेहरुको बिचल्ली भएको छ । टाढाटाढाका जनता त घर जान तम्तयार भइसकेको छ । तर, सहकारीले पैसा फिर्ता नदिँदा उनीहरुले किनमेल गर्न पाएनन् । सहकारीकै कारण उनीहरु घर गएर खुसीका साथ दशैं मान्न पनि नपाउने भए । चाडबाड मनाउन र खाँचो पर्दा चाहिन्छ भनेर जम्मा गरेको रकम फिर्ता नपाएपछि त जनता दशैं मनाउनबाट वञ्चित हुने भए ।

अर्कोतिर उनीहरुको बचत रकम पनि डुब्ने भयो । किनमेल गर्न र पैसा नभएर योचोटिको दशैंमा घर जानेको संख्या पनि ओरालो लाग्न सक्छ । खाली हात घर फर्किने कुरा भएन् । उता, जान आउने खर्चको पनि बन्दोबस्त मिलाउनुपर्यो । सहकारीमा पैसा निकाल्ने भीड ह्वात्तै बढेको छ । आफ्नो खातामा १० लाख रुपैंया छ भने १५ दिनमा पाँच हजार दिन्छु भने सहकारी । पाँच हजार लगेर के गर्ने ? पाँच हजारको अहिले के नै आउछ ? लुगा किन्नपर्यो, मिठोमसिनो खानपर्यो, गाडीभाडा चाहियो अनि यति जाबो रकम निकाल्नलाई यत्रो टन्टला ।

आफूले राखेको पैसा निकाल्नलाई अहिले सर्वसाधारणलाई धेरै सास्ती भएको छ । निकाल्नु छ आफ्नो पैसा तर कर्जा मागेभन्दा पनि चर्को छ । नभागेको सहकारीले यसरी कोटा सिस्टममा पैसा दिइरहेको छ भने डुबिसकेको सहकारीमा खाता हुने जनताको हाल बेहाल छ । कतिपय सहकारी त बचतकर्ताको बचत नै बोकेर कुलेलम ठोकिसकेका छन् । सहकारी भाग्दा जनता बिचल्लमिा परेका छन् । यो वर्षको दशैंमा धेरैलाई समस्या हुने भयो । कि ऋण लिएर दशैं मान्नुपर्यो कि त नमानिकन थपक्क बस्नुपर्यो ।
ठूलाले त दशैं नमानिकन बस्न सक्लान् । तर, बालबच्चा र पाहुनाले त बुझ्दैनन् । दशैं हो भनेपछि बालबच्चाले मिठोमसिनो खान र राम्रो लाउन खोजिहाल्छन् । बल्लतल्ल वर्षदिनमा आउने चाड भएकाले सबैले रमाइलोसंग मनाउन चाहान्छन् । सहकारीले कतिपयको दशैं नै उजाड बनाइदिनेछ भने परिवारमा दरार आउने निश्चित छ । अहिलेको दशैंमा एउटाले धुमधामका साथ दशैं मनाउछ अर्को टुलुटुल हेरेर बस्छ । छिमेकीको घरमा रमाइलो भइरहदा उसको घर बेरंगीज हुन्छ ।

सहकारीबाट पीडित भएकाहरुको गुनासो धेरै छन् । बुझ्दैनबुझी पैसा राख्दा आफ्नो दुःखको कमाइ गुमेकोप्रति उनीहरु थकथकी मान्छन् । यता, धेरै ब्याजको लोभमा परेर सहकारीमा पैसा राख्नेको अभाव छैन् । हामी नेपालीहरु चोट लाग्नुअघि कहिल्यै पनि सचेत बन्दैनौ । चोट नलागेसम्म नदुख्ने भएकाले पनि नेपालीहरु सचेत नबनेका हुन् । सहकारीको हकमा पनि त्यही भयो । सहकारी जोखिममा पर्यो भनेर बाहिर नआएसम्म कसैले चासो देखाएनन् । तर, जब सहकारी डुब्यो भनेर धमाधम सार्वजनिक हुन थाल्यो त्यसपछि मात्र हाम्रो होश खुल्यो ।

गाउँदेखि शहरसम्म, बुढादेखि भुरासम्म एउटै चर्चा चलेको छ । सहकारीले ठग्यो, हामीलाई डुबायो । सहकारीले सिधासाधी जनतालाई त ब्याजको लोभमा फसायो । जनता फसे पनि । तर, मुलुककै प्रतिष्ठित व्यक्तिहरुको रकमसमेत सहकारीले चुलुम्मै डुबाइदियो । भुपु उपराष्ट्रपति, भुपु सचिवलगायत थुप्रैको पैसा सहकारीले सिद्धयाइदियो । ठूल्ठूला उद्योगपतिलाई समेत सहकारीले छोडेन् । एउटा साग बेच्नेदेखि लिएर नेतासम्मको पैसा सहकारीले सखापै पार्यो । सहकारीले जनतादेखि कर्मचारीलाई ठग्न छोडेन् ।

राजनीतिक दलको आडमा सहकारीले जनता ठगेको हो । राजनीतिक पार्टीका झोलेहरुले सहकारी सञ्चालन गरेका छन् । सहकारी महासंघ खोल्ने, जनता ठग्ने । राजनीतिक दलकै आडमा आज जनता ठगिएका हुन् । सहकारीमा भएको जनताको १० खर्ब रुपैंया डुब्दा राजनीतिक दलहरु किन मुखमा ताला लगाएर बसेका छन् ? आजसम्म कुनै पनि पार्टीले सहकारीमा देखिएको समस्या र जनतामा परेको पीरको बारेमा बोलेका छैनन् । यतिखेर ९१ लख जनताको घरमा रुवावासी चलेको छ ।
तरपनि राजनीतिक दल नबोल्नु भनेको यहाँ केही रहस्य भएको स्पष्ट बुझिन्छ । सहकारीले ठगेको र लुटेको विषयमा राजनीतिक दल मौन बस्नुलाई जनताले कसरी बुझ्ने ? पर्दाभित्र बसेर राजनीतिक दलले सहकारीलाई जनता ठग्न सिकाएका हुन् । आज जनता उठीबास लाग्नुमा राजनीतिक दलको ठूलो हात छ । सहकारी महासंघका जिम्मेवार व्यक्तिहरु अझै पनि सहकारीमा त्यस्तो केही समस्या देखिएको छैन् भनेर जनतालाई झुक्काइरहेका छन् । बजारबाट पैसा उठाउनका लागि सहकारी महासंघका विभिन्न बहाना बनाइरहेको छ ।

सहकारीमा यत्रो समस्या देखिँदा पनि केही होइन् भने महासंघले टार्न खोजिरहेको छ । सहकारी विभागले नियमन नगर्दा पनि यस्तो भएको हो । विभागले अझै पनि सहकारीमा भएको समस्याबारे बोल्न चाहेको छैन् । न जनतालाई सचेत बनाउनतिर विभाग लाग्छ । जनतालाई निर्धक्क भएर नबस्न र आफ्नो बचत भएको सहकारीमा गएर बुझ्न त विभागले सुसुचित गराउनुपर्ने हो । तर, सहकारी विभागका पदाधिकारीहरु यति पनि गर्न सक्दैन् । सहकारीमा यस्तो अवस्था निम्तिदाँ पनि विभाग बोल्न नचाहनुले यसमा विभागको पनि मिलोमतो भएको देखिन्छ ।
विभागसमेत सहकारीका दलाली सञ्चालकहरुको पछि लागेको छन् । विभागले चासो नदेखाउनु र अनुगमन गर्नुको कारण आर्थिक चलखेल पनि हुनसक्छ । जनतालाई अब सहकारीमा पैसा नराख, बेलैमा सचेतना जगाऊ भनेर विभागले सूचना जारी गर्नुपर्ने हो । सरकारले कर लिनका लागि भकाभकी सहकारी दर्ता गर्न दियो । तर, अहिले सहकारीले जनतालाई मर्नु न मोटाउनु भएको बेला सरकार नै चुप लागेर बस्यो । जनतालाई पीरले सताएको बेला पनि सरकारलाई चैन छ ।

मुलुकभरका अधिकांश सहकारी डुबिसकेको छ । सहकारी दिनपिच्छे भागेका छन् यो क्रम अझै पनि बढ्ने देखिन्छ । घरजग्गा, सेयर र गाडीमा गरिएको लगानीले सहकारीलाई नै चपेटामा पर्यो । अहिले सहकारीका सञ्चालकहरु हामीले कर्जा उठाउन सकेनौं भनिरहेका छन् । तर, जनताले त जथाभावी लगानी गर भनेर पैसा राख्न दिएका थिएनन् । हाम्रो लगानी उठेन् हामी तपाईको पैसा फिर्ता गर्न सक्दैनौं भनेर सहकारीले भन्न पाउछन् ? हिजो लिन बेलामा हासेर, मख्ख परेर लिएको थियो । तर, आज दिने बेलामा दाँतबाट पसिना आएको छ ।

अब व्यापारी र सर्वसाधारणले पैसा राख्दैनन् । भएको पैसा पनि धमाधम निकालिदै छ । सहकारीमा पैसा राख्यो भने व्याजको लोभमा सावा पनि डुब्ला भनेर जनताले बुझिसकेका छन् । बजारमा घरजग्गा, सेयर र गाडीमा पुरै मन्दी आएको छ । यी क्षेत्रमा कोही पनि लगानी गर्न चाहदैनन् । हिजो एक कित्ता तीन हजारमा किनेको सेयर आज एक सयमा बिक्री हुदैन् । आनाको ३० लाखमा किनेको घडेरी आधा दाममा बेच्छु भन्दा पनि किन्ने भेटिदैनन् । सवारी साधनमा पनि उही हाल छ । नयाँ गाडीको दर्ता गर्नेबित्तिकै आजको भोलि भाउ घट्छ ।

अब सहकारीले कसरी आफ्नो लगानी उठाउछ ? सहकारीले आफ्नो लगानी उठाउनका लागि फेरि पनि बजार चलायमान हुनुपर्छ । घरजग्गा, सेयर र गाडीको मूल्य पुनः उकालो लाग्न आवश्यक छ । सहकारीबाट कर्जा खानेहरु किस्ता तिर्न नसकेर हात उठाइसकेका छन् । ब्याज मँहगो भएकाले उनीहरु हामी तिर्न सक्दैनौं भनिसकेका छन् । जमानीमा ऋण लिनेहरु पनि टाप कसिसकेका छन् । सहकारीले कर्जा पनि उठाउन नसक्ने र जनताको पैसा पनि फिर्ता गर्न नसक्ने भएपछि विकल्प के रह्यो ?
सहकारीको कारणले मानसिक रोगी र आत्महत्या गर्ने बढ्ने भए । सहकारीले गर्दा गरिबी र सुकुम्बासीको संख्यामा उकालो लाग्ने भयो । अब सहकारीमा पैसा राख्ने क्रम रोकौं । यो जुनसुकै बेला पनि भाग्न सक्छ, त्यसैले विश्वास नगरौं । आफ्नो पैसा सुरक्षित छ कि छैन् जाँचबुझ गरौं । सरकार आफैपनि सहकारीको पक्षमा छ त्यसैले पैसा फिर्ता आउला भनेर कल्पना नगर्दा पनि हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर