बझाङमा पनि पुगे पाठ्यपुस्तक, छिट्टै ढुवानी सुरु गरिने — OSNepal

बझाङमा पनि पुगे पाठ्यपुस्तक, छिट्टै ढुवानी सुरु गरिने

LC (KTM) April 17, 2023 0

बझाङ-बझाङको साइपाल गाउँपालिकालगायत १२ वटै स्थानीयमा विद्यालय खोल्नु अगाडि नै पाठ्यपुस्तक पुग्ने भएका छन् । विगतका वर्षमा वार्षिक परीक्षासम्म पनि पूरै पाठ्यपुस्तक नपाइने साइपाल गाउँपालिकालगायत स्थानीय तहका विद्यालयमा यो वर्ष भने विद्यालय खोल्नु अगाडि नै पाठ्यपुस्तक पुग्ने भएका हुन् ।

बझाङको सबैभन्दा दुर्गम स्थानीय तह साइपाल गाउँपालिकाका विद्यालयमा पनि विद्यार्थी भर्ना भएसँगै पुस्तक वितरण गर्ने तयारी रहेको साइपाल गाउँपालिकाका शिक्षा शाखा सहसंयोजक ज्ञानबहादुर बोहराले बताउनुभयो ।

समयमा नै पुस्तक पुगेपछि विद्यार्थी, शिक्षक तथा अभिभावकमा खुसी छाएको छ । धलौन माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्तबहादुर बोहराले भन्नुभयो, “यस वर्ष समयमै पाठ्यपुस्तक पुग्ने खबरले खुसी छौँ । यसरी नै हरेक वर्ष पाठ्यपुस्तक समयमै पुगे पठनपाठनमा सजिलो हुन्थ्यो । यातायात नपुगेको हाम्रो ठाउँमा सदरमुकाम पुग्नै तीन दिन लाग्छ । खच्चरमार्फत पुस्तक ढुवानी गर्छौं ।”

जिल्लाका सबै पालिकाका विद्यालयका लागि पाठ्यपुस्तक जिल्ला सदरमुकाम चैनपुरस्थित सगुन स्टेसनरी पसलबाट ढुवानी गरिने भएको छ । पसल सञ्चालक हर्क बम्मका अनुसार आधा जति किताब पसलमा पुगिसकेको र सबै किताब वैशाख ६ गते पुग्ने भएकाले ७ गते सबै विद्यालयमा पठाइने जानकारी दिनुभयो । बाह्र स्थानीय तह रहेको बझाङमा साइपाल गाउँपालिका बाहेकका स्थानीय तहमा यातायातको सहज सुविधा रहेकाले पाठ्यपुस्तक ढुवानीमा समस्या छैन ।

यातायातको समस्या रहेको साइपाल गाउँपालिकामा पनि खच्चरमार्फत पाठ्यपुस्तक ढुवानी गर्ने गाउँपालिकाले जनाएको छ । विगत वर्षमा वार्षिक परीक्षा सकिँदासमेत पुस्तक नपाएका जिल्लाका विद्यार्थी यस वर्ष समयमै पुस्तक पाउने भएपछि खुसी भएका छन् ।

जयपृथ्वी नगरपालिका–१ कैलाशमा रहेको नारायण माध्यमिक विद्यालयमा अध्ययनरत सङ्गीता खड्काले समयमै किताब पाइिने कुराले खुसी लागेको बताउनुभयो । यही वैशाख ३ देखि १५ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन भइरहेको र १५ गतेदेखि विद्यालयमा पठनपाठन सुरु हुने शिक्षा विकास तथा समन्वय एकाइका सूचना अधिकारी सिंहले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर