पुनःनिर्माणको काम बाँकी भए सरकारको पूर्ण साथ रहन्छ : प्रधानमन्त्री दाहाल — OSNepal

पुनःनिर्माणको काम बाँकी भए सरकारको पूर्ण साथ रहन्छ : प्रधानमन्त्री दाहाल

LC (KTM) April 25, 2023 0

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपछिको उद्धार, राहत र पुनःस्थापनामा आर्थिक, भौतिक सहयोग एवम् सद्भाव व्यक्त गर्नुहुने सबैप्रति सम्मान व्यक्त गर्नुभएको छ । गोरखा भूकम्पको स्मृतिका अवसरका आज सन्देश दिनुहुँदै प्रधानमन्त्रीले पुनः निर्माणका मूलभूत काम सम्पन्न भइसके पनि अझै केही काम बाँकी भए त्यसका लागि सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताउनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभएको छ, “यस अवधिमा बाँकी रहेका कामहरू सम्पन्न गर्ने कुरा सरकारको प्राथमिकतामा राखेको छु । सरकारको प्राथमिकतामा सदाझैँ सम्पूर्ण नेपालीको साथ र सहयोग रहने विश्वास व्यक्त गर्दछु ।”

विसं २०७२ वैशाख १२ गते गएको भूकम्पमा परी ज्यान गुमाउनुहुने नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति प्रधानमन्त्रीले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

यस्तै, मृतकका आफन्तप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ । भूकम्पका कारण घाइते एवं अङ्गभङ्ग हुनुभएका सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभसहित दीर्घायुको कामनासमेत प्रधानमन्त्रीले गर्नुभएको छ ।

भूकम्पपछि २०७३ सालमा गठित आफ्नो नेतृत्वको सरकारको पालामा राष्ट्रिय महत्वका पूर्वाधार एवं सांस्कृतिक सम्पदाको पुनःनिर्माण, निजी घरको निर्माणमा उल्लेख्य प्रगति हासिल भएको प्रधानमन्त्रीले स्मरण गर्नुभएको छ । उहाँले त्यस अवधिमा निजी घर निर्माणका निम्ति प्रतिघर रु एक लाख अनुदान रकम थप गर्नेलगायत जनतालाई राहत दिन महत्वपूर्ण निर्णय भएको प्रधानमन्त्रीले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर