ललितपुरमा छापिएका नक्कली नोट राजधानीका पसलमा छ्याप्छ्याप्ती ! — OSNepal

ललितपुरमा छापिएका नक्कली नोट राजधानीका पसलमा छ्याप्छ्याप्ती !

LC (KTM) April 28, 2023 0

ललितपुर, १५ वैशाख -गोदावरी नगरपालिका-१३ झरुवारासी बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका-११ घर भएका ३६ वर्षीय जिवन भन्ने सुरेश तामाङ र कास्की मादी गाउँपालिका-१ घर भएका २१ वर्षीय सुकुटे भन्ने भुपाल बिकलाई नक्कली नोट र विभिन्न दशीका समानसहित प्रहरीले पक्राउ गरेको छ ।

सुरेश तामाङले गोदावरी नगरपालिका-१३ झरुवारासीस्थित किराना पसलमा सामान किनेर जाली नोट दिएको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले सोही पसल अगाडिबाट नेपाली एक हजार दरको नोट १ थान, पाँच सय दरको नोट १ थान र एक सय दरको नोट १ थान गरी जम्मा ३ थान नक्कली जस्तो देखिने नोटसहित आइतबार पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा भुपाल बिकको समेत संलग्नता रहेको खुल्न आएपछि ललितपुर गोदावरी नगरपालिका-११ बज्रवाराहीबाट उनलाई नेपाली पाँच दरको नोट १ थान र सय दरको नोट १ थान गरी जम्मा २ थान नक्कली जस्तो देखिने नोटसहित फेला पारी बिहीबार प्रहरीले पक्राउ गरेको हो । साथै भुपाल बिकको गोदावरी नगरपालिका-१३ स्थित डेरा समेत तलासी गर्दा मुद्रा सम्बन्धी कसुरमा प्रमाणमा लाग्ने फोटकपी/प्रिन्टर मेसिन १ थान, नेपाली एक हजार, पाँच सय र एक सय दरका नोटको फोटोकपी गरिएको कागजातहरू र नक्कली जस्तो देखिने विभिन्न नोटपानाहरू समेत फेला पारी बारमद गरेको छ ।

उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।प्रहरीले भुपालको डेराबाट प्रिन्टरसहित थप एक हजार, पाँच सय र एक सय दरका नोट बनाउन फोटोकपी गरिएका कागजहरू पनि फेला पारेको छ । उनीमाथि पनि थप अनुसन्धान भइरहेको डिएसपी साहले बताए । उनीहरूले कहिलेदेखि यो काम गरिरहेका थिए भन्ने खुलिसकेको छैन ।प्रहरीले नक्कली नोट बनाउँदै बजारमा पठाइएकाले थप नक्कली नोट सर्वसाधारणले अञ्जानमा प्रयोग गरिरहेको हुनसक्ने आशंका गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर