सबैभन्दा कम मनाङमा र सबैभन्दा बढी २ नं प्रदेशमा मत बदर

Posted By OSNepal, California, USA || Date: 13 December, 2017

काठमाडौँ : पहिलो हुने निर्वाचित हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुलुकभर औषतमा पाँच दशमलव १८ प्रतिशत मत बदर भएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले हिमाली जिल्लाको तुलनामा मध्य तराई– मधेसका जिल्लामा बदर मत प्रतिशत निकै बढी रहेको पाइएको जानकारी दिनुभयो । उहाँका अनुसार, सबैभन्दा कम मनाङमा शुन्य दशमलव ३७ प्रतिशत मत बदर भएको छ भने सबैभन्दा बढी २ नं प्रदेशका जिल्लामा झण्डै नौ प्रतिशतसम्म मत बदर भएको छ ।

काठमाडाँै उपत्यकाका जिल्लामा तीन दशमलव ८१ प्रतिशत भन्दा कम नै मत बदर भएको तथ्यांक रहेको उहाँले बताउनुभयो । निर्वाचन आयोगले ५ प्रतिशतभन्दा कम नै मत बदर हुने अपेक्षा गरेको थियो । संविधानसभाको ६४ सालको निर्वाचनमा पाँच दशमलव १५ प्रतिशत मत बदर भएको थियो भने २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा चार दशमलव ९४ प्रतिशत मत बदर भएको हो । आज यहाँ आयोजित साक्षात्कारमा प्रमुख निर्वाचन आयुक्त डा यादवले अबको तीन दिनभित्रै समानुपातिक तर्फको सबै मतपरिणाम सार्वजनिक हुने बताउनुभयो ।

संविधानले नै सुनिश्चित गरेको महिला र जातजातिको प्रतिनिधित्वको विषयमा समानुपातिक निर्वाचन प्रणालीतर्फ बुझाइएको बन्दसूचीमा समावेश गरिएका नाम प्राथमिकताका आधारमा राजनीतिक दलले पठाउनुपर्ने पक्षलाई आयोगबाट गहन ढंगले हेरिने उहाँले बताउनुभयो । विभिन्न डर त्रास र भयलाई पन्छाएर व्यापक जनसहभागितामा निर्वाचन हुनु भनेको मतदाताले निर्वाचनको स्वामित्व ग्रहण गर्नु हो भन्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले राष्ट्रिय सभाको निर्वाचन सम्बन्धमा आयोगले नियमावली बनाउन शुरु गरिसकेको जानकारी दिनुभयो ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!