हेलो सरकार २४सै घण्टा सञ्चालनमा, प्रधानमन्त्रीद्वारा समुद्घाटन — OSNepal

हेलो सरकार २४सै घण्टा सञ्चालनमा, प्रधानमन्त्रीद्वारा समुद्घाटन

LC (KTM) September 03, 2023 0

काठमाडौँ, १७ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको ‘हेलो सरकार’ सेवालाई दैनिक तीन सत्रमा विस्तार गरेर २४सै घण्टा सञ्चालन प्रक्रियाको शुभारम्भ गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज हेलो सरकार कक्षको निरीक्षण र अनुगमनसहित जनताका समस्या सम्बोधन गरी तीन सिफ्टको कार्यक्रम शुभारम्भ गर्नुभएको हो । समारोहमा नेपाल सरकारका मुख्यसचिव, सचिवहरू, विभागीय प्रमुखहरू, मन्त्रालय तथा केन्द्रीय निकायका गुनासो सुन्ने अधिकृत, हेलो सरकार कक्षमा कार्यरत कर्मचारी सहभागी हुनुहुन्थ्यो ।

यसअघि नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेकामा विस्तारित गरिएको कार्यक्रममा आजबाट एनसेलको नेटवर्क बाटसमेत गुनासो राख्न सकिनेछ । गुनासोहरू फोन, इमेल, फेसबुक, ट्वीटर, पोर्टल, भाइबर, ह्वाट्स्एपलगायतका डिजिटल माध्यमबाट टिपाउन सकिनेछ । हेलो सरकारको डेस्कले प्राप्त गुनासो तत्काल सम्बोधन गरी सोको जानकारी सम्बन्धित निवेदकलाई दिने व्यवस्था मिलाइएको छ ।

हेलो सरकार २४सै घण्टा सञ्चालनका लागि तीन सिफ्टको कार्यतालिका निर्माण गरी सोहीअनुरूप कर्मचारी व्यवस्थापनसमेत गरिएको छ । त्यसका लागि नेपाल सरकारका तीन जना उपसचिवसहित २५ जना कर्मचारीहरू खटाइएको छ ।

हेलो सरकारमा आएका गुनासोहरू गुनासोको प्रकृति हेरी सम्बन्धित निकायमा पठाई समस्या समाधानमा सहजीकरणसमेत गर्ने व्यवस्था मिलाइएको छ । साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित गुनासोहरू सिधै सम्बोधन पनि हुनेछ ।

गुनासोहरू सम्बोधनका निम्ति ‘¥यापिड रेस्पोन्स टिम’समेत गठन गरी कायाएन्वयनमा ल्याइएको मुख्यसचिव डा वैकुण्ठ अर्यालले जानकारी दिनुभयो । उक्त टिमले सम्बन्धित निकायमा पठाइएका गुनासोहरू कार्यान्वयन भए वा नभएको अनुगमन गर्नुका साथै गुनासो सम्बोधनका लागि पहल गर्नेछ ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले जनताका समस्यालाई गम्भीरतापूर्वक लिइ समाधान गर्न निर्देशन दिनुभएको छ । उहाँले जनताका गुनासो जति गम्भीरतापूर्वक सम्बोधन हुन्छ, लोकतन्त्र त्यति नै बलियो हुने बताउनुभयो ।

“जनताको गुनासो सुनिएन भन्ने मत पनि छ । यसलाई तीन सिफ्टको कार्यक्रमले पूर्णतः सम्बोधन गर्ने विश्वास लिएको छु । मैले हेलो सरकारको निरीक्षण गरेँ । कार्यकक्ष हेरे । त्यहाँ आएको गुनासोमध्ये दोलखाको एउटा गुनासो सुनेँ र त्यसलाई सम्बोधन गर्ने निर्देशनसमेत दिइसकेको छु”, प्रधानमन्त्रीले भन्नुभयो ।

“सरकार र नागरिकबीचको सम्बन्धलाई अझै घनिभूत गराउन र शासकीय प्रणालीमा जनताको सहभागितालाई सक्रिय तथा सशक्त बनाउने अवधारणाका साथ १२ वर्ष अघि सुरू भएको हेलो सरकारलाई आजदेखि २४सै घण्टा सञ्चालन गरिँदैछ । सरकार र जनताबीचका सम्बन्ध थप सुदृढ तुल्याउँदै जनसेवा सवलीकरणका निम्ति यो सेवा बिस्तार कार्यक्रमले महत्वपूर्ण योगदान गर्ने विश्वास लिएको छु”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

सार्वजनिक निकायबाट भएको काम कारबाहीका सम्बन्धमा प्राप्त जनगुनासोलाई शीघ्र सम्बोधन गर्न तथा जनताको जिज्ञासा समाधान गर्ने र सुझाव लिने कार्यमा सरकार सदैव क्रियाशील रहनुपर्ने उहाँको भनाइ छ ।

राज्यमा सुशासनको प्रवद्र्धनका लागि सार्वजनिक निकायबीच अन्तरक्रियात्मक प्लेटफर्मका लागि प्रभावकारी सञ्जाल निर्माण गर्न आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वका लोकतान्त्रिक मुलुकका लागि आजको प्राथमिकता भनेको नै सार्वजनिक निकायमा पारदर्शिता र उत्तरदायी प्रणालीको प्रवद्र्धन गरी नागरिकको विश्वास आर्जन गर्नुभएको बताउनुभयो ।

आधुनिक राज्यमा खुला सरकारको अवधारणाअनुरूप सार्वजनिक निकायप्रति जनताको भरोसा दिलाउन सरकारले जनतालाई सुन्नुपर्छ भन्ने सैद्धान्तिक मान्यताका आधारमा नै नेपालका सन्दर्भमा हेलो सरकारको अवधारणा विकास गरी सुरु गरिएको प्रधानमन्त्री प्रचण्डले स्मरण गर्नुभयो ।

“वर्तमान राज्यप्रणालीप्रति नागरिकको सकारात्मक अपेक्षा हुनु स्वाभाविक नै हो । यी अपेक्षाबीच जनतामाझ जन्मने गुनासो तथा जिज्ञासाहरूको तत्काल उचित सम्बोधन गर्न सकिएन भने जनता र सरकारबीचको दूरी बढ्दै जाने, राज्य र व्यवस्थाप्रति आमजनताको निराशा र असन्तुष्टि चुलिँदै जानसक्ने विषयको बोध गरेर नै मैले सरकारको नेतृत्व लिएको दिनदेखि सुशासन प्रवद्र्धनको कडीका रूपमा हेलो सरकारलाई थप प्रभावकारी बनाउन संरचनात्मक सुधारका विषयमा दिशानिर्देश गरेको थिएँ । यसैगरी संसद्मा पनि मैले हेलो सरकारलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छु”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

हेलो सरकार सञ्चालनका लागि विश्वविद्यालयसँग सम्झौता गरी इन्टर्नमा विद्यार्थी लिनसक्ने व्यवस्थासमेत गरिएको छ । नेपाल टेलिकम र एनसेलबाट गुनासो, जिज्ञासा वा सुझाव दिने र कल रेकर्डिङ प्रणालीको विकास गरिएको छ ।

हेलो सरकारलाई केन्द्रीयस्तरमा मात्र सीमित नगरी प्रदेश र स्थानीय तहमा समेत यसको सञ्जाल विस्तार गर्नुपर्ने आवश्यकता छ । यस संयन्त्रलाई सरकारी नीति निर्माणमा नागरिक पृष्ठपोषण हुने प्रणालीका रूपमा विकास गर्ने तयारी गरिएको जनाइएको छ ।

“सुशासनको पहिलो शर्त सरकार र जनताबीचको आत्मीय सम्बन्ध बलियो हुनु हो । जनतामा सरकार पनि छ भन्ने अनुभूति गराउन सकिएन भने हामीले जेजति सेवा प्रवाहमा सुधार गरे पनि या सुशासनका कुरा गरे पनि यसले केही अर्थ राख्दैन”, प्रधानमन्त्रीले भन्नुभयो, “त्यसैले म सरकारका सबै निकायलाई जनताको गुनासो व्यवस्थापनका विषयलाई पहिलो प्राथमिकतामा राखेर कार्यसम्पादन गर्न निर्देशित गर्दछु । हाम्रा लागि साना तथा महत्वपूर्ण नलाग्न सक्ने गुनासो आमनागरिकका दैनिक जीवनका आयामसँग प्रत्यक्ष जोडिने गर्दछन् ।”

जनताका गुनासो तथा जिज्ञासालाई बास्केटमा राखेर कार्यालयमा स्टोरमात्र गर्ने परम्परागत संयन्त्र र कार्यशैलीले जनताप्रतिको उत्तरदायित्व बोध गराउन नसक्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सबै संयन्त्रलाई उत्तरदायित्व बोधले तिखार्न र कार्यसम्पादन गर्नसकेमा मात्र सरकारप्रति जनविश्वास आर्जन गर्न सकिने बताउनुभयो ।

हेलो सरकारसँग प्रत्यक्ष आबद्ध भई सार्वजनिक सरोकारका विषयमा आफ्ना गुनासा, जिज्ञासा कुनै पनि समयमा राख्न र नीति निर्माणका विषयमा रचनात्मक सुझाव तथा सूचना उपलब्ध गराउन तथा सञ्जाल सदस्य बन्न र अन्तरक्रिया गर्न आमजनसमुदायमा प्रधानमन्त्रीले विशेष अनुरोध गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर