घण्टौँ हिँडेर विद्यालय जानुपर्ने अवस्था अन्त्य गर्न गाउँपालिकाभित्रका तीन विद्यालयलाई जिप — OSNepal

घण्टौँ हिँडेर विद्यालय जानुपर्ने अवस्था अन्त्य गर्न गाउँपालिकाभित्रका तीन विद्यालयलाई जिप

LC (KTM) October 02, 2023 0

दमौली, १५ असोज ः तनहुँको आँबुखैरेनी गाउँपालिका–५ लाब्दीकी मुना गुरुङ विद्यालय जान साढे दुई घण्टा पैदल हिँड्ने गर्नुहुन्थ्यो । बिहान ७ः३० बजे घरबाट हिँडेपछि मात्रै उहाँ समयमै विद्यालय पुग्नुहुन्थ्यो । विद्यालयबाट घर फर्किनका लागि पनि गुरुङलाई त्यति नै समय लाग्थ्यो ।

वर्षांैदेखि यसरी नै हिँडेर विद्यालय आवतजावत गरिरहनुभएकी उहाँलाई अहिले हिँड्नु पर्दैन । घरदेखि विद्यालयसम्म आवतजावत गर्न जिप चढ्न पाइने भएपछि समय बचत भएको र बचेको समय अध्ययनमा लगाउन सहज भएको छ । आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कस्थित कन्यादेवी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत गुरुङले पैदलयात्राको बाध्यताबाट मुक्ति पाएसँगै अध्ययनमा सहज भएको बताउनुभयो ।

गाउँपालिकाले घण्टौँ हिँडेर विद्यालय जानुपर्ने अवस्था अन्त्य गर्न गाउँपालिकाभित्रका तीन विद्यालयलाई जिप सुविधा उपलब्ध गराएको हो ।

कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले जिप उपलब्ध भएपछि विद्यार्थीलाई सहज भएको बताउनुभयो । विद्यालयमा एक सय २४ विद्यार्थी अध्ययनरत रहेकामा ८० बालबालिकाले दैनिक विद्यालयमा आवतजावतमा तीनदेखि पाँच घण्टा यात्रा गर्नुपर्ने अवस्था छ ।

विद्यालय आवतजावतका लागि विगत लामो दशकदेखिको कष्टकर हिँडाइको यात्रामा पूर्णबिराम लागेको छ । कैयौँ वर्षदेखि विद्यार्थी यसरी नै हिँडेर विद्यालय आवजावत गर्नुपथ्र्यो तर अहिले दुई वटा जिपले दैनिक दुईपटक विद्यार्थी ल्याउने र घर लैजाने गरेको छ । वडा नं ५ मा एउटा र वडा नं ६ का लागि अर्को जिप सञ्चालन गरिएको छ । वडा नं ५ मा चल्ने जिपले बाटोमा पर्ने वडा नं ६ का विद्यार्थीलाई पनि विद्यालय ल्याउने लैजाने गरेको छ । दुवै वडाका गरेर ८० विद्यार्थीले यो सुविधा पाएका प्रधानाध्यापक गुरुङको भनाइ थियो ।
विद्यालय रहेको हिलेखर्कमा ६० घरधुरीमध्ये १८ विद्यार्थी मात्रै विद्यालयमा अध्ययनरत छन् । बाँकी विद्यार्थी वडा नं ५ र ६ का हुन् । घरदेखि विद्यालय टाढा रहेका विद्यार्थीलाई हिँडेर विद्यालय जान नपरोस् भन्नका लागि जिप सुविधा उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । बस खरिद गरेर उपलब्ध गराउने योजनाअनुरुप बस नआइञ्जेल जिप सुविधा प्रदान गरिएको उहाँको भनाइ थियो ।

यसैगरी आँबुखैरेनी गाउँपालिका–२ स्थित अन्नपूर्ण आधारभूत विद्यालय, अकला आधारभूत विद्यालय र वडानं ६ स्थित कन्यादेवी माध्यमिक विद्यालयका लागि सवारीसाधन उपलब्ध गराइएको छ ।

अध्यक्ष चुमानले भन्नुभयो, “घण्टौँ हिँडेर अब कोही पनि विद्यालय जानुपर्दैन । त्यसका लागि बस सुविधा उपलब्ध गराउँछौँ, सवारीसुविधा प्रयोग गरेबापत एक रुपैयाँ पनि तिर्नुपर्दैन । विद्यालय आवतजावत गर्न घण्टौँ हिँड्नुपर्ने र त्यसले गर्दा पढाइमा समस्या भएपछि सवारी साधनको व्यवस्था गरिएको हो।”

उक्त गाउँपालिकाले वडानं १ समस्तीपुरस्थित चन्द्रोदय माध्यमिक विद्यालय र वडानं २ स्थित अकला आधारभूत विद्यालयलाई बस उपलब्ध गराएको छ । गाउँपालिकाले आन्तरिक स्रोतबाट रु ५६ लाखको लागतमा उक्त बस खरिद गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर