नयाँ सरकारप्रति जनतामा नयाँ आशाको सञ्चार भएको छ : नेता खनाल — OSNepal

नयाँ सरकारप्रति जनतामा नयाँ आशाको सञ्चार भएको छ : नेता खनाल

LC (KTM) March 09, 2024 0

काठमाडौँ, २६ फागुन : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मुलुकमा नयाँ वाम–लोकतान्त्रिक गठबन्धनको सरकारप्रति जनतामा नयाँ आशाको सञ्चार भएको बताउनुभएको छ । पार्टी निकट अखिल नेपाल महिला सङ्घद्वारा आज आयोजित कार्यक्रममा उहाँले राष्ट्र निर्माणमा बहुसङ्ख्यक जनता कम्युनिष्ट नेतृत्वको पक्षमा रहेको अवस्थामा वाम–लोकतान्त्रिक शक्तिहरूको नयाँ सरकार बनेको बताउनुभयो ।

समकालीन राजनीतिक परिस्थितिमा वामपन्थी धु्रवीकरणको सम्भावना बढेको बताउँदै नेता खनालले जनचाहना र मुलुकको आवश्यकतालाई प्रतिविम्बित गर्न आफ्नो पार्टी पनि सरकारमा सहभागी भएको स्पष्ट पार्नुभयो ।

मुलुकका वामपन्थी, देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिसमेत यो सरकारमा सहभागी रहेका र यसप्रति सकारात्मक भाव देखिएको उहाँको भनाइ थियो । वाम शक्तिको एकता गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “एक वर्षअघि बनेको गठबन्धनको सरकार टुटेको छ, वामपन्थी शक्तिहरूको पहल र नेतृत्वमा गठित सरकारलाई पार्टीको तर्फबाट स्वागत र समर्थन गर्दछु ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले संसद्मा कुनै पनि पार्टीको बहुमत नभएकाले गठबन्धन सरकार बनाउनुको आवश्यकता औँल्याउँदै नयाँ गठबन्धनलाई दायाँबायाँ गर्ने छुट नभएको प्रष्ट पार्नुभयो । उहाँले विगतको गठबन्धनले अघि सारेका नीति, कार्यक्रम र बजेटले जनता तथा राष्ट्रको कुनै पनि आधारभूत समस्यालाई सम्बोधन गर्न नसकेको आरोप लगाउँदै वामपन्थी एकताको माग दिनप्रतिदिन बढिरहेको जिकिर गर्नुभयो ।

विश्वको परिस्थिति अत्यन्त तनावयुक्त बन्दै गएको बताउँदै नेता खनालले भूराजनीतिक शक्तिहरूबीच प्रतिस्पर्धा तीव्र बनिरहेकाले मुलुकको सर्वोपरी राष्ट्रिय हितलाई ध्यानमा राखेर सन्तुलित विदेश नीति अख्तियार गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । सो अवसरमा सङ्गठन सुदृढीकरणमा योगदान गरेका नेतालाई सम्मानसमेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर