आजदेखि हुने एसइई परीक्षामा बागलुङबाट चार हजार विद्यार्थी सहभागी — OSNepal

आजदेखि हुने एसइई परीक्षामा बागलुङबाट चार हजार विद्यार्थी सहभागी

LC (KTM) March 28, 2024 0

गलकोट (बागलुङ), १५ चैत : बागलुङमा माध्यामिक शिक्षा परीक्षा (एसइई) मा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै गएको पाइएको छ । यद्यपि यो वर्ष चार हजार तीन सय ९९ जना विद्यार्थी सहभागी हुँदैछन् ।

आजदेखि हुने एसइई परीक्षामा बागलुङबाट चार हजार तीन सय ९९ विद्यार्थी सहभागी हुँदैछन् । गत वर्षको तुलनामा यस वर्ष एसइईमा सहभागी हुने विद्यार्थीको सङ्ख्या चार सय ३७ ले घटेको छ ।

तीन वर्षयताको तथ्याङ्कलाई हेर्ने हो भने विद्यार्थीको सङ्ख्या बर्सेनि घटेको पाइएको छ । शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका अनुसार २०७८ सालमा चार हजार आठ सय ९३ जना एसइई परीक्षामा सहभागी भएका थिए । विसं २०७९ मा चार हजार आठ सय ३६ विद्यार्थी सहभागी भएका थिए । बर्सेनि परीक्षार्थीको सङ्ख्या घट्दै गएको र आगामी वर्ष चार हजारबाट अझै ओरालो लाग्ने अवस्था देखिएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख युक्तप्रसाद सुवेदीलेले बताउनुभयो ।

घट्दो जनसङ्ख्या, वैदेशिक रोजगारी र परिवार नै विदेश बस्नाले बर्सेनि विद्यार्थीको सङ्ख्या घट्दै गएको बताउनुभयो । “विद्यार्थीको सङ्ख्या घट्दो पाएका छौँ, आगमी वर्षको दर्ता फाराम विश्लेषण गर्दा विद्यार्थी घट्ने स्पष्ट भएको छ,”, उहाँले भन्नुभयो ।

बागलुङमा यस वर्ष एसइई परीक्षामा चार हजार तीन सय ९९ विद्यार्थी सहभागी हुँदैछन् भने सोमध्ये तीन जना दृष्टिविहीन, १० जना संस्कृत विद्यालयका र दुई सय २९ प्राविधिक विषय, ३४ खुलातर्फका विद्यार्थी रहेका शिक्षा विकास तथा समन्वय एकाइ बागलुङले जनाएको छ ।

जिल्लामा ३१ वटा परीक्षा केन्द्र कायम गरिएका छन् । परीक्षा सम्पन्न गर्न ३१ जना केन्द्राध्यक्ष चार सय ८९ सहायक केन्द्राध्यक्ष, निरीक्षक एक हजार नौ सय २८, परीक्षा सहायक पाँच सय २३, कार्यालय सहायक आठ सय ६७ जना र चार सय ६५ जना सुरक्षाकर्मी परिचालन हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर