टि ट्वान्टी : नेपाल ‘ए’द्वारा आयरल्यान्ड ‘ए’ तीन रनले पराजित — OSNepal

टि ट्वान्टी : नेपाल ‘ए’द्वारा आयरल्यान्ड ‘ए’ तीन रनले पराजित

LC (KTM) April 01, 2024 0

काठमाडौँ, १९ चैत ः नेपाल ‘ए’ले तेस्रो तथा अन्तिम ‘टि ट्वान्टी’ खेलमा आयरल्यान्ड ‘ए’लाई तीन रनको झिनो रनले पराजित गरेको छ । जितका लागि दुई सय १४ रनको विशाल लक्ष्य पछ्याएको आयरल्यान्ड ‘ए’ निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय १० रनमा समेटियो । तीन खेलको टि–ट्वान्टी शृङ्खलाको उपाधि भने आयरल्यान्ड ‘ए’ले एक खेल अगावै जितेको थियो । नेपाल ‘ए’ यसअघि खेलेका दुवै खेलमा पराजित भएको थियो । आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो ।

आजको खेलमा आयरल्यान्डका लागि ग्यारेथ डेलानी र मोर्गन टोप्पिङले अर्धशतकीय पारी खेले । डोलानीले ३७ बलमा पाँच चौका र पाँच छक्काको सहयोगमा सर्वाधिक ६८ रनको योगदान दिए । त्यस्तै टोप्पिङले ३७ बलमा चार चौका र चार छक्काको मद्दतमा ६० रन बनाए । त्यस्तै रोस्स अदिरले ३१ रन बनाउदाँ फिन ह्यान्डले २२ रन जोडे ।

बलिङतर्फ नेपालका विपिन खत्रीले तीन विकेट लिए भने कमल ऐरी, नारायण जोशी र रासिद खानले समान एक /एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय १३ रनको योगफल बनाएको थियो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ९३ रनको योगदान दिए । उनले ४८ बल खेल्दै सात चौका र छ छक्का प्रहार गरे । त्यसैगरी रासिद खानले २४ रन बनाउँदा पवन सर्राफले १३ रन जोडे । बसिर अहमदले १९ रन बनाए भने कप्तान विनोद भण्डारी ११ रनमा आउट भए । त्यस्तै लोकेश बमले आठ रन जोड्दा देव खनाल छ रनमा आउट भए ।

बलिङतर्फ आयरल्यान्ड ‘ए’का लागि फिन ह्यान्डले दुई विकेट लिए भने लियाम म्याकार्थी ग्यारेथ डेलानी म्याथु फोस्टर र गेभिन होइले समान एक÷एक विकेट लिए । अब नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ले तीन खेलको एकदिवसीय शृङ्खला खेल्नेछन् । सो शृङ्खला यही चैत २१ गतेदेखि सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर