नस्ल सुधारका लागि मनाङ ल्याइएका नौवटा याक दुब्लाउँदै गए — OSNepal

नस्ल सुधारका लागि मनाङ ल्याइएका नौवटा याक दुब्लाउँदै गए

LC (KTM) April 05, 2024 0

मनाङ, २३ चैत : सोलुखुम्बुको याक आनुवांशिक स्रोत केन्द्र स्याङ्बोचेमा उत्पादन भएका शुद्ध नस्लका लागि मनाङ ल्याइएका नौवटा याक दुब्लाउँदै गएका छन् । हावापानी तथा भूगोल परिवर्तन हुँदा यिनीहरु राम्ररी फस्टाउन नसकेका गण्डकी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ ।

आकारमा साना भएकाले यहाँका ठूला याकहरुसँगै राख्न पनि समस्या भएको मनाङ याकचौँरी पालन तथा संरक्षण संस्थाका अध्यक्ष सुरेश थकालीले बताउनुभयो । उहाँले भन्नुभयो, “भूगोल परिवर्तन भएर होला त्यति खुसीसँग रमाएको पाइएको छैन । यिनीहरुलाई जोगाउन पनि समस्या जस्तै भएको छ ।” आकारमा साना भएकाले ठूला याकले हानेर मारिदिने डर कायमै रहेको उहाँले बताउनुभयो ।

अध्यक्ष थकालीले माथि जाने बेला नभएकाले जहाँ वितरण गरिएको थियो सोही ठाउँमा ती याकलाई राखिएको जानकारी दिनुभयो । नार्पाभूमिका लागि छुट्याइएका याकहरु हालसम्म पनि सो पालिकाले नलैजाँदा महिनाको रु ३० हजार खर्च गरी ब्याडका रुपमा पालिरहेको उहाँले बताउनुभयो ।

गत पुस १९ गते सोलुखुम्बुबाट मनाङ हिँडाइएका नौवटा याक मनाङ आइपुगेका थिए । ती याक यहाँका किसानलाई वितरण गरिएको थियो ।

ङिस्याङ गाउँपालिकाको पिसाङ समूहलाई एक, भ्राकास्थित तीन गोठलाई एक तथा नासोँ गाउँपालिकाका तीन समूहलाई एक÷एकका दरले वितरण गरिएको थियो । चामे गाउँपालिकामा समहूलाई र तीन गोठको समूहलाई एक÷एक वटा वितरण गरिएको छ । बाँकी दुई याक याकचौँरी संरक्षण संस्थामा हेरालुको व्यवस्था गरी राखिएको थियो ।

चारवटा पालिका रहेको जिल्लामा हरेक पालिकालाई दुईवटाका दरले वितरण गर्ने भनिए पनि नार्पाभूमि गाउँपालिका विकटमा हुनुका साथै त्यहाँका कोही पनि सम्पर्कमा नआएपछि संस्थामै राखिएको अध्यक्ष थकालीले बताउनुभयो । २५ प्रतिशत किसानले बेर्होर्ने गरी वितरण गरिएका सबै याकको बीमा गरिएको, काटमार तथा बेचबिखन गर्न नपाइने सर्त राखिएको उहाँको भनाइ छ ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले ल्याएका सबै भाले याक हुन् । हाडनाता प्रजनन्ले मनाङका याकको नस्ल राम्रो नभएकाले किसानको २५ प्रतिशत लागत साझेदारीमा ती याक वितरण गरिएको निर्देशनालयले जनाएको छ । सरकारी मूल्यअनुसार रु २० देखि २५ हजारमा ती याक किनिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर