राष्ट्रियसभा अध्यक्षसँग इजरायली राजदूतको भेट — OSNepal

राष्ट्रियसभा अध्यक्षसँग इजरायली राजदूतको भेट

LC (KTM) April 09, 2024 0

काठमाडौँ, २७ चैत : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग इजरायली राजदूत हनान गोदरले न्यमभच न्यमिदभचनभच शिष्टाचार भेट गर्नुभएको छ ।
सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यका विषयमा कुराकानी भएको थियो । भेटका अवसरमा अध्यक्ष दाहालले नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ६० वर्ष पुगिसकेको चर्चा गर्दै आगामी दिनमा पनि दुई देशबीचको सम्बन्ध थप मजबुत र घनिष्ट हुने विश्वास व्यक्त गर्नुभयो। ।

नेपाल शान्तिको पक्षधर राष्ट्र भएको उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “हामी सधैँ मध्यपूर्वमा शान्ति, अमन चयन र स्थिरताको पक्षमा छौँ, संयुक्त राष्ट्रसङ्घलगायतका बहुपक्षीय मञ्चमा नेपाल र इजरायलबीच हुने गरेका आपसी सहयोगले दुई देशको सम्बन्ध थप मजबुत बनाएको छ ।”

लामो द्वन्द्वपछि नेपालमा शान्ति प्रक्रिया टुङ्गोमा पुग्न लागेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपाल अब आर्थिक समृद्धिको बाटोमा लागेको र त्यसका लागि इजरायल सरकारको महत्वपूर्ण सहयोग आवश्यक रहेको बताउनुभयो ।

‘अर्न एण्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका नेपाली नागरिकमाथि भएको घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष दाहालले हालसम्म बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका लागि तीव्र पहल गरिदिन आग्रह गर्नुभयो । उहाँले अहिले पनि करिब चार हजार नेपाली श्रमिक इजरायलमा रहेको उल्लेख गर्दै उनीहरुको सुरक्षा र रोजगारीका विषयमा चासो व्यक्त गर्नुभयो ।

इजरायलबाट नेपालमा उल्लेख्य पर्यटक आउने गरेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा अझ धेरै इजरायली नागरिकलाई नेपाल भ्रमणका लागि पहल गरिदिन र नेपालको पर्यटन प्रवद्र्धन गर्नमा योगदान गरिदिन आग्रहसमेत गर्नुभयो ।

सो अवसरमा इजरायली राजदूत गोदारले इजरायल र नेपालको सम्बन्ध निकै घनिष्ट रहेको चर्चा गर्दै नेपालको कला, संस्कृति, परम्परा र पर्यटकीयस्थलका हिसाबले धनी रहेको बताउनुभयो । आफूले लामो समय नेपालमा रहेर काम गर्ने मौका पाएको उल्लेख गर्दै राजदूत गोदारले सगरमाथा, लुम्बिनी, चितवन, पोखरा, रारालगायतका नेपालका थुप्रै पर्यटकीय गन्तव्यले विश्वमै नेपालको पहिचान दिलाएको बताउनुभयो ।

‘लर्न एण्ड अर्न’ कार्यक्रम आफूले नै पहल गरेर सुरु गरेको उल्लेख गर्दै राजदूत गोदारले उक्त कार्यक्रमबाट थुप्रै नेपालीले इजरायलबाट सीप सिकेर नेपालमा राम्रो काम गरेको बताउनुभयो । दुर्भाग्यवस पछिल्लोपटक भएको घटनाबाट पीडितका घरघरमै पुगेर भेटेको उहाँले बताउनुभयो । इजरायलमा मारिएका नेपाली विद्यार्थीका परिवारलाई सानै भए पनि सहयोग गर्ने इजरायल सरकारले प्रतिबद्धता व्यक्त गरेको पनि उहाँले उल्लेख गर्नुभयो । विपिन जोशीको खोजीका लागि अहिले पनि प्रयास भइरहेको राजदूत गोदारले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर