उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू — OSNepal

उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू

LC (KTM) April 10, 2024 0

काठमाडौँ, २८ चैत : निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि सम्बन्धित क्षेत्रमा आजदेखि आचारसंहिता लागू गरेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न प्रतिनिधिसभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा (१) निर्वाचन क्षेत्रमा आचारसंहिता लागू गराइएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचन आचारसंहिता, २०७९ बमोजिम आचारसंहिता लागू हुने निकाय, अधिकारी, राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षले उक्त आचारसंहिताको पालना गर्नुपर्नेछ । आचारसंहिताको दफा ४२ बमोजिम आचारसंहिताको पालना तथा राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सम्बन्धमा नेपाल प्रहरी, अन्य सुरक्षा निकाय, कुनै कार्यालय वा व्यक्तिमार्फत आवश्यक सूचना र विवरण लिई तत्काल कारबाही गर्न निर्देशन दिइएको छ ।

राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक वा भेलासम्बन्धी विषय, सवारीसाधनको प्रयोग र सञ्चारमाध्यमको प्रयोग तथा निर्वाचन खर्च गर्दा आचारसंहिताको मापदण्डबमोजिम गर्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर