कांग्रेस गोरखाका पूर्वउपसभापति न्यौपानेको निधन, कांग्रेसद्वारा दुःख व्यक्त — OSNepal

कांग्रेस गोरखाका पूर्वउपसभापति न्यौपानेको निधन, कांग्रेसद्वारा दुःख व्यक्त

LC (KTM) April 15, 2024 0

काठमाडौँ, ३ वैशाख : नेपाली कांग्रेसले पार्टी गोरखाका पूर्वउपसभापति एवं जिल्ला विकास समितिका पूर्वसभापति चन्द्रप्रसाद न्यौपानेको निधनमा दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी ८१ वर्षीय न्यौपानको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो । स्वर्गीय न्यौपाने विस २०४९ मा जिल्ला विकास समितिको गोरखाको सभापति हुनुभएको थियो । २०६४ सालको संविधानसभाको निर्वाचनमा गोरखा जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ बाट नेपाली कांग्रेसको उम्मेदवार बन्नुभएका न्यौपाने पटक–पटक नेपाली कांग्रेसको महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि बन्नुभएको थियो ।

विस १९९९ वैशाख १३ गते गोरखाको सिरानचोक गाउँपालिका–४ मा जन्मनुभएका न्यौपानेले प्रजातन्त्र स्थापना र पुनस्र्थापनाका क्रममा पटक–पटक हिरासत र जेलजीवन बिताउनुभएको कांग्रेसले जनाएको छ । विसं २०१७ मा प्रजातन्त्रको अपदस्थ गरिएदेखि नेपाली कांग्रेसद्वारा सञ्चालित हरेक आन्दोलन र सङ्घर्षहरुमा निरन्तर सक्रिय रहँदै आउनुभएका न्यौपानेको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

न्यौपानेको निधनमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गर्नुभएको छ । देउवाले स्व न्यौपानेले पार्टीका विभिन्न पदमा रहेर पार्टी सङ्गठन र लोकतन्त्रको पक्षमा निर्वाह गर्नुभएको भूमिका अविस्मरणीय रहेको बताउनुभएको छ । सभापति देउवाले स्व न्यौपानेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना साथै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर