मुुगुको गमगढीमा निःशुल्क स्वास्थ्य शिविर, दुई हजार एक सयले लिए सेवा — OSNepal

मुुगुको गमगढीमा निःशुल्क स्वास्थ्य शिविर, दुई हजार एक सयले लिए सेवा

LC (KTM) May 02, 2024 0

सिमकोट (हुम्ला), २० वैशाख : मुगुको गमगढीमा बृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । सो शिविरबाट दुई हजार एक सय जना स्थानीय नागरिकले स्वास्थ्य जाँच गराएर लाभान्वित भएका छन् ।

काठमाडौँ मेडिकल कलेज, सिनामङ्गलका विशेषज्ञ चिकित्सकहरुको टोलीले कर्णालीका विभिन्न जिल्लामा पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने क्रममा बुधबार गमगढीमा सो शिविरको आयोजना गरिएका हो । सो शिविरमा नेपाली कांग्रेसका नेता एवं सांसद डा सुनिल शर्माको नेतृत्वमा सो अस्पतालका २५ जना विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मी उपचारमा सहभागी भएका थिए ।

सो टोलीले हिजोमात्र हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकाका एक हजार आठ सय जनालाई उपचार सेवा दिएको थियो । त्यसैगरी सो चिकित्सक टोलीले यसअघि यही वैशाख १३ गते डोटीको दिपायल र १५ गते बाजुराको तिलिचौरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

गमगढीमा आयोजित सो शिविरमा मुटु रोग, बाथरोग, न्यूरोसम्बन्धी समस्या, पाठेघरको समस्या, दम, हाडजोर्नी, निमोनियालगातका रोगको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको सांसद डा शर्माले जानकारी दिनुभयो । यसरी स्वास्थ्य जाँच गरिएका बिरामीमध्ये ९७ जनामा गम्भीर प्रकृतिको रोग देखिएको र उनीहरुको शल्यक्रिया गर्नुपर्ने भएकाले उनीहरुलाई काठमाडौँ रेफर गरिएको डा शर्माले बताउनुभयो ।

सामान्य रोग देखिएका र यहीँ सम्भव हुने नागरिकलाई यही शिविरबाटै उपचार दिने र गम्भीर रोग देखिएका या आशङ्का लागेकालाई बाटोखर्च समेत दिई काठमाडौँ बोलाइएको र सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा निःशुल्क शल्यक्रिया तथा थप उपचार गरिने पनि डा शर्माले बताउनुभयो ।

उहाँले सुलभरुपमा स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसकेका हुम्लालगायत कर्णाली र सुदुरश्चिमका स्थानमा पुगेर निःशुल्क सेवा दिने उद्देश्यले यही वैशाख १३ गतेदेखि कर्णालीका विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर राखेर उपचार दिइएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर