गाँजाको पाँच सय बढी बोट फाँडेर नष्ट — OSNepal

गाँजाको पाँच सय बढी बोट फाँडेर नष्ट

LC (KTM) November 13, 2021 0

खोटाङ, २७ कात्तिक – इलाका प्रहरी कार्यालय महादेवस्थान हलेसीले गाँजाको पाँच सयभन्दा बढी बोट फाँडेर नष्ट गरेको छ । प्रहरी निरीक्षक प्रमोद कार्कीको नेतृत्वमा खटिएको प्रहरीको गस्ती टोलीले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको राबुमा करिब दुई रोपनी जग्गामा रहेको गाँजा फडानी गरेको हो । राबुमा फरक–फरक ठाउँमा आफै उम्रिएको गाँजा फाँडेर नष्ट गरिएको प्रहरी निरीक्षक कार्कीले बताए ।

सामाजिक अपराधलाई निस्तेज पार्न लागुऔषध कारोबार रोकथाम र अपराध नियन्त्रणका लागि शुक्रबार साना तथा ठूला गाँजा नष्ट गरिएको प्रहरीले जनाएको छ । यद्यपि बारीमा रहेको गाँजा व्यवसायीक रुपमा लगाएको नभई आफैं उम्रिएको बुझिएको प्रहरी निरीक्षक कार्कीले बताए ।

जिल्ला प्रहरी कार्यालयले केही वर्षयता जिल्लामा गाँजा फँडानी अभियानलाई जारी राखेको छ । विगतका वर्ष हलेसी तुवाचुङ नगरपालिकाको हलेसी, दुर्छिम, डिकुवा, बडहरे, बाहुनीडाँडा, मंगलटार, च्यास्मीटार लगायतका ठाउँमा गाँजा खेती लगाउने गरिएकामा प्रहरीले नष्ट पार्न थालेपछि पछिल्लो समय गाँजा खेतीमा केही कमी आएको छ ।

घरैबाट बिक्री हुने तथा ठेकेदारले ५० हजारदेखि एक लाखसम्म अग्रिम पेश्की दिने गरेकाले किसानले अवैध गाँजाको खेतीमा जोखिम मोल्ने गरेका छन् । उदयपुरबाट आउने ठेकेदारले अग्रिम भुक्तानी दिएर किसानलाई गाँजाको खेतीतर्फ प्रोत्साहित गरेको बताइएको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने र अन्यबाली कम उव्जाउ हुने सो क्षेत्रका किसानले व्यवसायीक रुपमा गाँजा खेती गर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर