महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान गरिने — OSNepal

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान गरिने

LC (KTM) April 26, 2024 0

महोत्तरी, १४ वैशाखस् महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न लागिएको छ । आइतबारदेखि हात्तीपाइले रोग निवारणका लागि १० दिने सामाजिक अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

स्वास्थ्य सेवाप्रदायक, स्थानीय तह, प्रशासन र सामाजिक सङ्घ संस्थाबीच समन्वय गरी साझा संयन्त्र बनाएर अभियान सञ्चालन गर्न थालिएको स्वास्थ्य कार्यालयका प्रमुख सुनिता गुप्ताले जानकारी दिनुभयो । महोत्तरी हात्तीपाइले रोग प्रभावित जिल्ला भएकाले रोग निवारणका लागि सामूहिकरूपमा अभियान सञ्चालन गरिने उहाँको भनाइ छ । अभियानको सफलताका लागि जिल्लाका १५ वटै स्थानीय तहमा खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकलाई बस्तीबस्तीका घरघर पुगेर औषधि खुवाउने तरिकाबारे अभिमुखिकरण गरिसकिएको गुप्ताले बताउनुभयो । “यसपालि औषधि सेवनमा एकजना पनि नछुटुन् भन्ने ध्येयका साथ योजना बनाइएको छ । स्वास्थ्यकर्मीले घरघरमा पुगेर औषधि खुवाउनेछन् । यस अभियानमा सहयोगका लागि सबैलाई आग्रह छ” गुप्ता भन्नुभयो ।

अभियानको क्रममा दुई वर्ष उमेर पुगेका सबैलाई उचाइमापन गरी औषधिको मात्रा दिइने छ । त्यसबाहेक दुई वर्ष उमेर नपुगेका, गर्भवती महिला, सात दिनभित्रका सुत्केरी, अस्पतालमा भर्ना भएका बिरामी, छारे रोग भएका, दीर्घरोगी र निरन्तर डाइलासिस गर्नुपर्ने व्यक्तिलाई औषधि खुवाइने छैन । यस अभियानअन्तर्गत जिल्लाका सात लाख १६ हजार दुई सय ६४ जनालाई औषधि खुवाइने कार्यालयको तथ्याङ्क छ । मधेशका आठ जिल्लामध्ये महोत्तरी, धनुषा, सर्लाही र रौतहट गरी चार जिल्लामा हात्तीपाइले रोगविरुको औषधि खुवाइने छ । –

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर