चिया टिप्दै गरेका रामबहादुरको हात्तीले लियो लखेटी लखेटी ज्यान — OSNepal

चिया टिप्दै गरेका रामबहादुरको हात्तीले लियो लखेटी लखेटी ज्यान

LC (KTM) November 26, 2021 0

झापा, १० मङ्सिर -चिया टिप्दै गरेका एक मजदुरको जङ्गली हात्तीको आक्रमणबाट आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–९ का ६० वर्षीय रामबहादुर बुर्जा (मगर) रहेको प्रहरीले जनाएको छ । आज बिहान ६ः३० बजे मेचीनगर नगरपालिका–१४ शनिबारेस्थित टङ्क पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा जङ्गली हात्तीले आक्रमण गर्दा उहाँको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला कारागारमा पुस्तकालय स्थापना -जिल्ला कारागारमा कैदीबन्दीका लागि पुस्तकालय स्थापना गरिएको छ । लायन्स क्लब अफ गुप्तेश्वरले पुस्तकालय स्थापना गरेको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला कारागारलगायतको समन्वय तथा जिल्लामा सक्रिय लायन्स क्लबको सहकार्यमा पुस्तकालय स्थापना गरिएको हो । क्लबले आफ्नो वार्षिक कार्ययोजनाअन्तर्गत कैदीबन्दीमा सकारात्मक सोच र अध्ययनप्रति रुचि जगाउने उद्देश्यका साथ पुस्तकालय स्थापना गरिएको क्लबका अध्यक्ष अर्जुन पौडेलले जानकारी दिनुभयो ।

पुस्तकालय स्थापना कार्यक्रममा लायन्स क्लबका डिस्ट्रिक गभर्नर विशेश्वर आचार्यले क्लबको स्थापनाको मुख्य उद्देश्यलाई मध्यनजर गर्दै कारागारमा पुस्तकालय स्थापना गरिनु गौरवको कुरा भएको बताउनुभयो । क्लबले करिब रु तीन लाखको लागतमा पुस्तकालय स्थापना गरेको हो । झण्डै रु दुई लाख ५० हजार बराबरका ४५० थान पुस्तक र अन्य फर्निचर सामग्री उपलब्ध गराइएको छ । पुस्तकालय स्थापनाका लागि धेरै सहयोगदाताबाट पुस्तक र फर्निचर सामग्री सौजन्य प्राप्त भएको अध्यक्ष पौडेलले बताउनुभयो । कारागारमा अहिले ९० भन्दा बढी कैदीबन्दीले जेल जीवन बिताइरहेका छन् ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर