जनताका मुद्धालाई केन्द्रमा राख्दै कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्छ : अध्यक्ष नेपाल — OSNepal

जनताका मुद्धालाई केन्द्रमा राख्दै कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्छ : अध्यक्ष नेपाल

LC (KTM) April 26, 2024 0

काठमाडौँ, १४ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई समाजवादी क्रान्ति र आर्थिक रूपान्तरणको कार्यदिशा भएको कम्युनिष्ट मान्यतामा आधारित बलियो पार्टीका रुपमा स्थापित गर्नुपर्ने बताउनुभएको छ ।

पार्टी निकट युवा सङ्घद्वारा आज आयोजित कार्यक्रममा उहाँले कम्युनिष्ट आन्दोलन टुटफुट हुँदा जनतामा निराशा र आक्रोश बढेको बताउनुभयो । समाजका आधारभूत आवश्यकतालाई सम्बोधन गर्न सही नीति, सिद्धान्त, कार्यक्रमको खाँचो औँल्याउँदै उहाँले समाजमा विधमान सबै प्रकारका भेद्भावका अन्त गरी मुलुकमा जनताको आर्थिक तथा सामाजिक रुपान्तरण कायम गर्नुपर्ने उल्लेख गर्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले मुलुकमा विभिन्न समयमा भएको जनआन्दोलनबाट राजनीतिक क्रान्ति पूरा गरिएको भन्दै सबै नागरिकलाई सामाजिक न्यायका साथै समानताका कानुनी अधिकारलाई सुरक्षित गर्ने दायित्व राज्यको भएको विचार व्यक्त गर्नुभयो ।

उहाँले मुलुकको राष्ट्रियता, जनताको जनजीविका, स्वतन्त्रता, लोकतन्त्र, मुलुक र जनताका एजेण्डालाई केन्द्रविन्दुमा राखेर कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष नेपालले सामाजिक न्यायसहितको समुन्नत एवं समृद्ध मुलुक निर्माणको अभिभारा पूरा गर्न कम्युनिष्ट पार्टीको दायित्व र जिम्मेवारी थपिएको बताउनुभयो । उहाँले सङ्घका विभिन्न प्रकाशन विमोचन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर