पर्यटकीय गन्तव्यस्थल घुम्टेमा विश्वशान्ति पूजा — OSNepal

पर्यटकीय गन्तव्यस्थल घुम्टेमा विश्वशान्ति पूजा

LC (KTM) October 27, 2021 0

बागलुङ-धार्मिक एवं पर्यटकीय गन्तव्यस्थल घुम्टेमा आउँदो बुधबार र बिहीबार विश्वशान्ति पूजा हुने भएको छ । कात्तिक अष्टमी तिथि पारेर लघुरुद्री तथा लाखबत्ती प्रज्ज्वलनसमेत गर्न लागिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रले जनाएको छ ।तीन हजार ११० मिटर उचाइको घुम्टेमा अवस्थित सिद्ध–भैरव मन्दिर परिसरमा वैदिक विधिपूर्वक पूजापाठ गरिने केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताउनुभयो । विश्वशान्तिको कामनासहित केन्द्रले गत वर्षदेखि दसैँ र तिहारबीचको अष्टमीमा पूजाको तिथि बसालेको हो ।

यज्ञ, पूजापाठ, सङ्र्कीतनलगायत धार्मिक अनुष्ठानका लागि सबै तयारी पूरा भएको अध्यक्ष बस्नेतले बताउनुभयो । लाखबत्ती प्रज्वलन गर्न चाहने भक्तजनका लागि बत्ती र पूजा सामग्रीको प्रबन्ध केन्द्रले नै गर्ने भएको छ । सो वापत सेवा दस्तुर भने भक्तजनले तिर्नुपर्नेछ । तीनसुते बत्तीका लागि रु २० हजार, पाँचसुतेका लागि रु २५ हजार र नौसुतेका लागि रु ३५ हजार दस्तुर निर्धारण गरिएको छ । “पूजा परम्पराले धार्मिक पर्यटक घुम्टे चढ्न आकर्षित हुने विश्वास लिइएको छ”, अध्यक्ष बस्नेतले भन्नुभयो ।ऐतिहासिक सिद्ध–भैरवको मन्दिर रहेको घुम्टेमा वर्षेनी वैशाखे पूर्णिमाका अवसरमा विशेष पूजापाठ हुने गर्छ । मनोकांक्षा पूरा हुने विश्वासमा सिद्ध–भैरवको दर्शनका लागि हजारौँ दर्शनार्थी सो दिन घुम्टे पुग्छन् । छिमेकी जिल्लाका धार्मिक पर्यटकसमेत घुम्टे चढ्न लालयित हुन्छन् ।

वैशाखे पूर्णिमामा मात्र नभएर अरु याममा पनि धार्मिक पर्यटकलाई घुम्टेमा आकर्षित गर्ने उद्देश्यले विश्वशान्ति पूजाको परम्परा बसालिएको केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले बताउनुभयो । कात्तिक, माघ र साउनमा बली नचल्ने हुँदा ती महिनामा वैदिक विधिपूर्वक पूजा हुने गरेको छ । गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको सीमामा पर्ने पर्यटकीय लेक घुम्टे प्राकृतिक, धार्मिक र जैविक दृष्टिले महत्वपूर्ण मानिन्छ । त्यहाँको पर्यटन प्रवद्र्धनका लागि नयाँ वर्षमा गुराँस उत्सवसमेत आयोजना हुँदै आएको छ । रङ्गीचङ्गी गुराँसले वसन्त याममा घुम्टेको सौन्दर्य अझ बढी खुल्छ । घुम्टेबाट मनोरम भू–बनोट, हिमश्रृङ्खला, सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य देख्न सकिन्छ । पदयात्राका सौखिनका लागि पनि घुम्टे उपयुक्त मानिन्छ ।

चारैतिरबाट घुम्टे चढ्न व्यवस्थित पदमार्ग बनेका छन् । गलकोट–५ टेउवासम्म सडकमार्फत पुगेपछि त्यहाँबाट पैदल अढाइ÷तीन घण्टामा घुम्टे पुगिन्छ । वडा नंं. ७ मल्म, १० पाण्डवखानीको सिद्धथान र ताराखोला गाउँपालिका हुँदै पनि घुम्टे चढ्न सकिन्छ । गण्डकी प्रदेश सरकारको ११० गन्तव्यस्थलमध्येमा सूचीकृत घुम्टलाई जोड्ने सडकमार्ग पनि निर्माणाधीन छ । टेउवादेखि तल्लो र उपल्लो घुम्टेबीचको देउरालीसम्म सडक पु¥याउन चार वर्षअघि काम थालिएको थियो । सडकदेखि अन्य पर्यटकीय पूर्वाधारमा सङ्घ, प्रदेश सरकार र स्थानीय तहको लगानी छ । घुम्टेलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न केन्द्रको अगुवाईमा स्थानीयवासी कस्सिएका छन् । पूर्वाधार र प्रचारप्रसार अभावमा ओझेलमा परेको घुम्टे विस्तारै पर्यटन क्षेत्रमा चिनिँदैछ । घुम्टेको विकास र प्रवद्र्धनमा सरकारी चासो पनि बढ्दो छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर