आफ्नो गृहजिल्लाको विकासबारे किन झुट बोल्छन् ओली ? — OSNepal

आफ्नो गृहजिल्लाको विकासबारे किन झुट बोल्छन् ओली ?

LC (KTM) October 25, 2021 0

झापा – पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा आउँदा विकासबारे सधैँ झुट बोल्छन् । गृहजिल्लाको विकासबारे अपडेट नभएर हुन सक्छ, उनले यस्तो बोलेको । प्रधानमन्त्री हुँदा होस् या प्रधानमन्त्रीबाट हटेपछि, उनी हुलाकी राजमार्गका बारेमा सधैँ चर्चा गर्छन् ।

हुलाकी राजमार्ग बनिसकेको दाबी गर्छन् । सोमबार उनको निर्वाचन क्षेत्रअन्तर्गत गौरादहमा भएको एक कार्यक्रममा हुलाकी राजमार्गअन्तर्गत प्राविधिक त्रुटिका कारण रतुवामा पुल बन्न नसकेको बताए । उनले कहीँ-कहीँ वन क्षेत्र परेर समस्या भएको बताए । ‘हुलाकी राजमार्ग बनिसक्यो । बीचमा रतुवाको एउटा पुलले गर्दा अड्किएको छ । त्यसका लागि पनि अहिले स्टिमेट भइरहेको छ । त्यो पनि छिट्टै हुन्छ,’ ओलीले भने, ‘बीचमा केही वन क्षेत्रले रोकिएको छ । त्यो पनि बनाउने प्रयास गर्छौ । दुई दशकदेखि कुरा मात्र भयो । बनेन । हुलाकी राजमार्ग आफैँ बनाउँछौँ भनेर ६ वर्षअघि मैले भनेको थिएँ । केही ठाउँमा पूरा हुन बाँकी छ । त्यो पूरा गर्छौँ ।’

तर, बाँकी ठाउँमा हुलाकी राजमार्ग बनेको उनको दाबी थियो । अवस्था भने त्यस्तो छैन । उनको यो प्रचार झुट हो । हुलाकी राजमार्गमा पर्ने झापा खण्ड गौरीगञ्जदेखि भद्रपुरसम्म बनेको छ । सडकको काम भएको छ । तर, दशकसम्म विभिन्न नदीमा पुल नबन्दा झापाभरि पनि हुलाकी राजमार्गबाट यात्रा गर्नसक्ने अवस्था छैन ।

कतिपय पुल एमाले निकट ठेकेदारले ठेक्कामा लिएर अलपत्र पारेका छन् । केही पुल दशकपछि काम भइरहेको छ । तर, उनले भनेजस्तो रतुवामा मात्र हुलाकी राजमार्गमा अन्य आधा दर्जन पुलहरू अलपत्र छन् । जसका कारण स्थानीयको यात्रा जोखिमपूर्ण छ । बर्खामा ठूला नदीहरूमा पैसा तिरेर डुंगाबाट नदी पार गर्नुपर्ने बाध्यता छ । हिउँदमा पनि बाँसको पुलमा पैसा तिरेर यात्रा गर्नुपर्ने बाध्यता छ ।

हुलाकी राजमार्गअन्तर्गत माई नदीमा पुल निर्माण सुरु गरेको एक दशक नाघ्यो । तर, अहिलेसम्म पुल निर्माण भएको छैन । २०६८ साल ३१ जेठमा पप्पु कन्स्ट्रक्सन र महादेव खिम्ती जेभीले यो पुल ठेक्का लिएका थिए । चार वर्षमा सक्ने गरी ३४ करोडमा ठेक्का लिइएको यो पुलमा अहिले पिल्लरबाहेक अरू केही काम भएको छैन ।

७ सय २४ मिटर लम्बाइको पुल २०७२ जेठ मसान्तमा निर्माण सक्नु पर्ने थियो । तर, हालसम्म आधा मात्र काम भएको छ । यो पुलको ठेक्का निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले लिएका हुन् । यस्तै, अर्को ठूलो नदी बिरिङको हालत पनि उस्तै छ । एमाले अध्यक्ष ओली निकट निर्माण व्यवसायी मदन अधिकारीको मैनाचुली कन्स्ट्रक्सन र लामा कन्स्ट्रक्सनले ठेक्का लिएका हुन् ।

अधिकारी दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीका श्रीमान् हुन् । ३१९ मिटर लामो पुल निर्माण २०७३ सालमै निर्माण सम्पन्न गर्नुपर्ने हो । २०६८ वैशाखमा १५ करोड ५० लाख ५८ हजारमा ठेक्का लागेको पुल अझै अलपत्र छ । योसँगै हुलाकी राजमार्गमा पर्ने किस्नी खोलाको पुल पनि अझैसम्म निर्माण सम्पन्न हुन सकेको छैन । यद्यपि समय सकिए पनि यो पुलको निर्माण कार्य अहिले भने धमाधम भइरहेको छ ।

यस्तै, गौरीगञ्जको रतुवा, लेहरा, कमल, भुत्नी खोलालगायत खोलाको पुल अलपत्र छ । ओलीले भने रतुवा खोलाको मात्र समस्या देखे । रतुवा खोलामा बनेको पुल नदीको चौडाइभन्दा कम बनेपछि समस्या भएको हो । निर्माण सकिएको भनेर यो पुल ठेकेदार कम्पनीले जिम्मा लगाइसकेको छ । यद्यपि पुल भने खोलाभन्दा सानो छ ।

सोमबार पूर्वप्रधानमन्त्री ओलीले गौरीगञ्जमा दशैँ, तिहार, छठलगायत पर्वको उपलक्षमा भएको शुभकामना आदान-प्रदान कार्यक्रममा भने, ‘चार्डपर्वले सबैलाई सदबृद्धि दियोस् । सबैले सही कुरा बोलुन् ।’ तर, ओली आफैँले केहिबेर अघि गौरादहमा भएको एक कार्यक्रममा हुलाकी राजमार्गअन्तर्गत रतुवा पुल मात्र बन्न बाँकी रहेको भन्दै झुट बोले ।न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर