अक्सिजनको अभावमा कोरोना संक्रमितको मृ त्यु भएपछि अक्सिजन सिलिण्डर वितरण गर्दै प्रहरी — OSNepal

अक्सिजनको अभावमा कोरोना संक्रमितको मृ त्यु भएपछि अक्सिजन सिलिण्डर वितरण गर्दै प्रहरी

LC (KTM) May 09, 2021 0

भक्तपुर, २६ वैशाख – कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा अक्सिजनको अभाव भएर दुई कोरोना सङ्क्रमितको ज्या न गएको प्रहरीमा खबर पुग्यो । अस्पतालमा भर्ना भएका अन्य २८ जना बिरामीलाई पनि अक्सिजन अभावले थप समस्या पार्ने खबर पाए लगत्तै प्रहरी सक्रिय भयो

महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रहरी उपरीक्षक तारादेवी थापाले अक्सिजन अभावले बिरामीको ज्यान गएको र अरु बिरामी पनि जोखिममा रहेको जानकारी पाए लगत्तै प्रहरीले सङ्कलन गरेको ठूला १२ वटा सिलिण्डर अक्सिजन तत्कालै अस्पताललाई पठाएर अरु बिरामीको ज्यान सुरक्षित गर्न सफल भयो ।

यतिखेर प्रहरी परिसर भक्तपुर शान्ति सुरक्षाका साथै जनताको सुरक्षाका लागि पनि सक्रिय भएको छ । प्रहरीले विभिन्न वर्कशप, जिमखाना र अक्सिजन सप्लायर्सलगायतका ठाउँबाट सङ्कलन गरेको अक्सिजनसहितको सिलिण्डर अस्पतालहरुलाई वितरण गरेको छ । प्रहरी उपरीक्षक थापाले भन्नुभयो, “कोरोनाबाट जोगिदै मानवीय सेवामा निरन्तर लागिरहेका छौँ ।”

प्रहरी परिसर भक्तपुरले भक्तपुर अस्पताललाई पाँच वटा अक्सिजनसहित र ५० वटा खाली गरी ५५ वटा सिलिण्डर र नेपाल­कोरिया मैत्री नगरपालिका अस्पताल थिमिलाई २५ वटा र अल्का अस्पताल ललितपुरलाई अक्सिजनसहितको तीन गरी ९५ वटा सिलिण्डर वितरण गरेको छ । अत्यावश्यक अवस्थाका लागि पाँच वटा अक्सिजनसहितको सिलिण्डर जगेडामा राखेको छ ।

केही दिन अगाडि पनि प्रहरीले “तपाइँको मास्क खै ?” भन्ने अभियान सञ्चालन गरेर मास्क नलगाएका व्यक्तिलाई मास्क वितरण गरेको थियो । प्रहरीले अहिले निषेधाज्ञाको उल्लङ्घन गरेर जथाभावी हिड्ने र सवारी साधन चलाउनेहरुलाई सडकमै जरिवाना लगाउने तथा होल्डिङमा राख्ने गरेको प्रहरी उपरीक्षक थापा बताउनुहुन्छ ।

सङ्क्रमण रोग निवारण ऐनअन्तर्गत गत वर्षको निषेधाज्ञामा मास्क नलगाई हिँड्ने, बिना कारण घर बाहिर निस्किएर हिँड्ने र पास नभई जथाभावी हिँड्ने सवारी साधन गरी १६ हजारलाई कारबाही गरी सरकारलाई १६ लाख राजस्व बुझाएको थियो । यस वर्ष पनि बिना कारण घर बाहिर निस्किएर हिँड्ने र पास नभई जथाभावी हिँड्ने सवारी साधनलाई नियन्त्रणमा लिएर रु. १०० जरिवाना तिराउने गरेको प्रहरी उपरीक्षक थापाले बताउनुभयो । प्रहरीले माइकबाट जनचेतना फैलाउने कार्यलाई पनि निरन्तरता दिएको छ ।

काममा खटिएका प्रहरीलाई कोरोना भाइरस सङ्क्रमणबाट जोगाउन सामुदायिक विद्यालयलाई समेत व्यारेक बनाएको छ । भक्तपुरको विद्यार्थी निकेतन मावि र श्रीपद्म माविमा प्रहरी व्यारेक बनाएको छ । परिसरभित्र रहेका प्रहरीलाई बाहिरका प्रहरीसँग सम्पर्क नगराउने र बाहिर काममा खटिएका प्रहरीलाई परिसरभित्र नराखी स्कुलमा बसेर त्यहीँबाट काममा जाने व्यवस्था गरेको छ । व्यारेकमा नबसी घर र कोठामा बस्ने प्रहरीहरुलाई भने परिसरबाट नभई बाहिरबाटै काममा खटिएर जाने गरी व्यवस्था गरिएको छ । प्रहरीलाई एकै पटक सङ्क्रमण नहोस् भनेर काममा खटिने विशेष व्यवस्था गरेको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो ।(रासस)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर