गोदावरी पुष्प प्रदर्शनीमा लक्ष्यभन्दा २९ लाख बढीको कारोबार — OSNepal

गोदावरी पुष्प प्रदर्शनीमा लक्ष्यभन्दा २९ लाख बढीको कारोबार

LC (KTM) November 03, 2021 0

काठमाडौँ, १६ कात्तिक -गोदावरी पुष्प प्रदर्शनीमा लक्ष्यभन्दा रु २९ लाख बढी कारोबार भएको छ । ललितपुरमा शुक्रबादेखि सुरु भएको १४ औँ गोदावरी पुष्प प्रदर्शनीमा लक्षित रु ५० लाखभन्दा बढी आर्थिक कारोबार भएको हो । गत वर्ष कोरोना महामारीका कारण उक्त प्रदर्शनी हुन सकेको थिएन । फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङका अनुसार यस वर्ष कारोनाको महामारी पूर्णरूपमा नहटेका कारण रु ५० लाखको मात्रै कारोबार हुने आशा गरिए पनि लक्ष्यभन्दा निकै बढी कारोबार भएको छ ।

गत शुक्रबादेखि चार दिनसम्म रहेको प्रदर्शनीमा ३७ हजार अवलोकनकर्ता सहभागी भएको बताइएको छ । मेलामा सबैभन्दा बढी ६० प्रतिशत गोदावरी फूल बिक्री भएको अध्यक्ष तामाङले जानकारी दिनुभयो । मेलामा ४४ स्टल र गोदावरी पुष्पसँगै, पुष्प खेती गर्दा आवश्यक पर्ने औजार, मललगायत सामग्री मेलामा राखिएको थियो । प्रदर्शनमा काठमाडौँ उपत्यकासहित चितवनका पुष्पखेती गर्ने व्यवसायीले ४०० प्रजातिका फूल बिक्री वितरणका लागि राखेका थिए । विगतको वर्षमा भन्दा यस वर्ष फूलको माग बढे पनि स्वदेशी उत्पादनको मात्रा बढ्न नसक्दा ५० हजारभन्दा बढी सयपत्री फूलको माला भारतबाट आयात गरिएको छ । आवश्यकताअनुसार आयात गरिने फूलमध्ये केही आज आइसकेको छ भने केही भोलि ल्याउने तयारी रहेको छ ।

यस वर्षको तिहारमा १८ लाख ५० हजार मालाको माग छ । तीमध्ये १५ लाख ५० हजार सयपत्री र तीन लाख मखमली एवं गोदावरी फूलको माला छन् । माग बढी र अन्यत्रबाट गत वर्षभन्दा बढी फूल आयात गर्नुपर्ने भएकाले यस वर्ष मूल्यमा केही वृद्धि हुने बताइएको छ । एक मिटर सयपत्री फूलको मालाको मूल्य रु ६० देखि ७० सम्म पर्नेछ । यस वर्ष विगत दुई वर्षको तुलनामा बजारमा १५ प्रतिशत फूलको माग बढी छ ।

विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । व्यावसायिकरूपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । हाल यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन् । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् । फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ । नेपालमा विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकाससँगै थप फस्टाउँदै गएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर