दुई सातादेखि सिमकोट–खार्पु सडक अवरुद्ध — OSNepal

दुई सातादेखि सिमकोट–खार्पु सडक अवरुद्ध

LC (KTM) November 03, 2021 0

हुम्ला, १७ कात्तिक- दुई सातादेखि अवरुद्ध कर्णाली करिडोरको सिमकोट–खार्पु सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । अविरल वर्षाले १ कात्तिकमा सडक खण्डको ठाउँ ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा सिमकोट–खार्पु खण्डमा चल्दै आएका साना जीप र अन्य सवारी साधन बन्द भएका छन् ।

सडक अवरुद्ध भएसँगै स्थानीयलाई आवतजावतमा समस्या भएको चंखेली गाउँपालिका–५ का स्थानीय जसिलाल तामाङले गुनासो गरे । याङ्चुदेखि सिमकोटसम्म १० देखि १२ स्थानमा पहिरो गएको तामाङले बताए । तर दुई साता बितिसक्दा समेत सरोकारवाला निकायले चिन्ता र चासो नदेखाउँदा स्थानीयलाई आवतजावत गर्न कठिन भएको खार्पुनाथ गाउँपालिका–५ का प्रकाशबहादुर शाहीले बताए ।

यो सडक निर्माण तथा मर्मतको जिम्मेवारी पूर्वाधार विकास कार्यालयको हो । पहिरोले क्षतविक्षत भएको सडक पन्छाउँन ढिला हुँदा सिमकोट–खार्पु १३ किलोमिटरको दुरी पार गर्न घण्टौं लाग्ने गरेको छ । सडक सञ्चालन गर्ने बारेमा स्थानीय प्रशासन र सरोकारवाला पनि मौन छन् ।

सिमकोटदेखि हिल्सासम्मको पहिरो पन्छाउने जिम्मा हिल्सा सिमकोट सडक योजनाले पाएको छ । ९० किलोमिटर सडकको पहिरो पन्छाउँने काम हिल्सा सिमकोट सडक योजनाले सुरू गरिसकेको हिल्सा सिमकोट सडक योजनाका प्रमुख विष्णुदास लामाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर