बेनीमा यस वर्षको दसैँ र तिहारमा लाखौंको झिनिया र सेल रोटीको व्यापार — OSNepal

बेनीमा यस वर्षको दसैँ र तिहारमा लाखौंको झिनिया र सेल रोटीको व्यापार

LC (KTM) November 04, 2021 0

म्याग्दी, १८ कात्तिक-म्याग्दी सदरमुकाम बेनीमा झिनिया र सेल रोटीको व्यापार फस्टाउँदै गएको छ । यस वर्षको दसैँ र तिहारको अवधिमा लाखौंको झिनिया र सेल रोटीको व्यापार भएको छ । बेनीका झिनिया उत्पादक तथा व्यापारीका अनुसार दसँै तिहारको एक महिनाको अवधिमा एक जनाले रु एक लाख देखि रु दुई लाखको बिक्री गरेका छन् । बेनीमा झिनिया उत्पादन गरेर बिक्री गर्ने उद्यमीको सङ्ख्या बीस जना भन्दा धेरै छ ।

उद्यमी सिर्जना श्रेष्ठले दसैं तिहारको अवधिमा सेल रोटी र झिनियाको माग अत्यधिक भएको बताउनुभयो । “दैनिक पाँच सय वटासम्म सेल रोटी बिक्री भएको छ,” उहाँले भन्नुभयो “घरमा बनाउन झञ्जट हुने, बिग्रने डर र कोसेली लैजान सजिलो हुने भएकाले पछिल्लो समय तयारी सेलरोटी र झिनियाको माग बढेको छ ।”

सेलरोटी र झिनियाको साथै चिनी, फिनी, झेली, फुल रोटीको पनि उत्पादन र बिक्री वितरण हुन्छ । सेलरोटी प्रतिगोटा रु. ३०, चिनी र फिनी रोटी प्रतिगोटा रु पचासका दरले बिक्री हुने गरेको छ । झिनिया आकार अनुसार प्रतिगोटा रु दश देखि पन्ध्रमा बिक्री हुन्छ । बेनीका उद्यमीले उत्पादन गरेको झिनियाले माग धान्न नसकेपछि छिमेकी जिल्ला बागलुङबाट समेत आयात भएको उद्यमी राधा बोगटीले बताउनुभयो ।

सीप भएका महिलालाई फुर्सद्को समय सदुपयोगका साथै आयआर्जनको अवसर मिलेको बोगटीले बताउनुभयो । हेर्दा आकर्षक, खानलाई स्वादिलो, सजिलो तथा तयारी खाजाको रूपमा प्रयोग गर्न सकिने भएकाले चाडपर्वको समयमा झिनिया रोटीको खपत धेरै हुनेगर्छ ।

चामलको पिठो पकाएर त्यसलाई मेसिनमा पेलेर निस्कने चाउचाउको जस्तो त्यान्द्रोलाई घाममा सुकाएपछि बन्ने झिनिया घ्यू, तेलमा फ्राई गरेर खानयोग्य हुन्छ । बनाउन झञ्झटिलो भए पनि झिनियाको व्यापार गर्नेको कमाइ भने राम्रो छ । बेनीको मङ्गलाघाटकी बुद्धीमा बुढाले एक महिनायता दुई लाख रुपैया भन्दा बढीको झिनिया रोटी बिक्री गरेको बताउनुभयो । ग्राहक घरमै आउने भएकाले बजारको समस्या छैन् । स्वास्थ्यकर्मी भने झिनिया बनाउदा, सुकाउदा, भण्डारण र उपभोग गर्दा सरसफाइमा ध्यान दिनुपर्ने बताउछन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर