लण्डनमा यसरी खेलीयो देउसी भैलो — OSNepal

लण्डनमा यसरी खेलीयो देउसी भैलो

LC (KTM) November 08, 2021 0

लण्डन । नेपालकै शहरी क्षेत्रमा परम्परागत देउसी बिकृत हुँदै अनि हराउदै गइरहेको अवस्थामा लण्डनस्थित प्लम्स्टिड, वेलिङ्ग, डार्टफोर्ड लगायतका क्षेत्रमा सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स यु केको आयोजनामा देउसी भैलो । संस्थाका अध्यक्ष माधव पराजुलीको नेतृत्वमा देउसी कार्यक्रम सम्पन्न भएको हो ।

दिपावलीको उज्यालो र रङ्गोलीले सजाइएको नेपाली समुदायको घरले छुट्टै पहिचान स्थानीयबासीलाई दिई रहेको बेला अझ गलामा सयपत्रीको माला, दौरा सुरुवाल, सारी चोलोमा सजिएर देउसुरेको धुन बजाउदै बासुरी र मादलको भाका हाल्दै देउसी खेल्दा अंग्रेज़ मात्र होइन हाम्रै दोश्रो पुस्ताका नेपाली सन्तानहरु पनि बडो रमाइलो मानीरहेका थिए । बाटोमा लस्करै देउसी खेल्नेको पंत्ति देख्दा स्थानीय बेलायतबासीहरु पनि रोकिएर हेरिरहेका थिए ।

बिश्वको जुनसुकै कुनामा पुगेता पनि आफ्नो रिती रिवाज जोगाउन र अर्को पुस्तालाई आफुले जानेको कुरा जति सक्छौं त्यति हस्तान्तरण गर्न हामीले देउसी खेलेको र यसलाई बिशुद्ध पर्वकै रूपमा लिएको तर आर्थिक संकलनको लागि नगरिएको भन्दै उठेको रकम परोपकार कार्य मै खर्चिने कुरा अध्यक्ष पराजुलीले बताए ।

साहित्यकार एवं संस्थाका पूर्व सचिव बिनोद न्यौपानेले आफ्नो परम्परा, संस्कृति आफ्नो निधि हो, यसलाई परिस्कृत रूपमा भए पनि मनाउनपर्छ भन्नेमा जोड दिए । कोरोनाका कारण गतसाल खेल्न नपाएको देउसी यसपाली बडो उत्साहका साथ साथीभाईहरू बीच खेल्दा र स- साना नानीहरु रमाउँदा यो देउसी एकदमै यादगारमय रहेको कुरा पूर्व उपाध्यक्ष दीप गिरीले बताए ।

देउसी भैलो प्रचलनको किम्बदन्तीको बारेमा दिनेश पौड्यालले जानकारी गराउँदै शुरु गरिएको सो देउसीमा स्वागत गीत रमेश दाहालले, भट्ट्याउने तर्फ माधव पराजुली, दिनेश पौड्याल, रमेश दाहालले र आशिष दिनेमा चन्द्र कार्कीले प्रमुख भूमिका निर्वाह गरेका थिए ।

आफैमा देउसी विशिष्ट छ जो नेपाली मात्रैले खेल्ने गर्छन् । यस्तो रमाइलो चाड बिदेशी भूमिमा स्वदेशको भाकामा देउसुरेको रङ्ग भर्दै साथ दिनेहरुमा पूर्व अध्यक्ष तथा गैर आवासीय नेपाली संघका पूर्व आई सि सि सदस्य अर्कराज तिम्सिना, टीका तिम्सिना, उपाध्यक्ष याम राय, कोषाध्यक्ष गोबिन्द महत, सह सचीव सबिता गिरी, पूर्व अध्यक्ष डा.नारायण भट्टराई, गीता भट्टराई, सचीव बिनोद न्यौपाने, पूर्व सह सचिव शर्मिला न्यौपाने, पूर्व उपाध्यक्ष बिमल अधिकारी, प्रमिला अधिकारी लगायतका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर