OSNepal बिहिबार, मंसिर १६ २०७८

चितवनमा बन्दको सामान्य प्रभाव, नेकपाका जिल्ला अध्यक्षसहित ११ जना पक्राउ

चितवनमा बन्दको सामान्य प्रभाव, नेकपाका जिल्ला अध्यक्षसहित ११ जना पक्राउ

  • OSNepal
  • मंगलबार, कार्तिक ३० २०७८


चितवनमा बन्दको सामान्य प्रभाव, नेकपाका जिल्ला अध्यक्षसहित ११ जना पक्राउ
Reading Time: < 1 minute

खाना पकाउने ग्यासलगायत पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको चितवनमा सामान्य प्रभाव परेको छ ।बजारमा अधिकांश पसल बन्द भएका छन् । मालबाहक र लामो दूरीका यात्रुबाहक गाडी छिटपुट चलेका छन् । मोटरसाइकल र अटोहरू भने सदाझै निर्वाध चलेका छन् । केही यात्रु हिँडेरै आफ्नो गन्तव्यतर्फ लागिरहेका छन् । शिक्षण संस्था बन्द छन् । विद्यालय गएका विद्यार्थीहरू पनि घर फर्किएका छन् ।

बन्द गराउन गाडीको चाबी खोस्न खोज्ने र टायर बाल्न खोज्ने ११ जनालाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा विप्लव नेकपाका जिल्ला अध्यक्ष सन्देश पौडेललगायत रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

‘जबर्जस्ती गाडीको चाबी खोस्न खोज्ने नौजनालाई नारायणगढ लायन्सचोकबाट पक्राउ गरेका हौँ । अरु दुईजना भने बाइपास रोडमा टायर बाल्न खोज्ने व्यक्ति हुन्’, उनले भने । जिल्लामा अहिले बन्दको प्रभाव सामान्य रहेको उनले बताए ।आज बन्द आह्वान गरिएपनि सबै सरकारी कार्यालयहरू खुल्ने चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । ‘सरकारी कार्यालयहरू हिजोअस्ति जस्तै आज पनि खुल्छन् । केहीले स्वस्फुर्त रूपमा गाडीहरू चलाउनु भएको छैन । राजमार्ग अवरुद्ध गर्न खोज्ने र टायर बाल्न खोज्नेलाई नियन्त्रणमा लिएका छौँ’, उनले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड