OSNepal मंगलबार, मंसिर १४ २०७८

ज्योतिनगर पहिराको मुख्य कारणः मूलहरुको सतही बहाव

ज्योतिनगर पहिराको मुख्य कारणः मूलहरुको सतही बहाव

  • OSNepal
  • बुधबार, मंसिर १ २०७८


ज्योतिनगर पहिराको मुख्य कारणः मूलहरुको सतही बहाव
Reading Time: 6 minutes

रुपन्देही, १ मङ्सिर – पानीको अव्यवस्थित सतही बहाव नै बुटवल पहिराको मुख्य कारण देखिएको छ । यहाँको पहिरालाई रोकथाम गर्ने पहिलो उपाय सतही र भूमिगत पानीको सही व्यवस्थापन भएको विज्ञले निष्कर्ष निकालेका छन् । पहिरा नियन्त्रणका लागि श्रवन डाँडा (पहिरा गएको डाँडो) को मध्य भागमा रहेका मूलहरुबाट बगेको पानीलाई पाइपमार्फत एकै ठाउँ जम्मा गरेर पुराना वा नयाँ नालीमा मिसाउनु उपयुक्त हुने राय विज्ञको छ । गत भदौ १३ र १४ गते बुटवल उपमहानगरपालिकाको ज्योतिनगर र लक्ष्मीनगर माथिको भागस्थित चुरे क्षेत्रमा गएको ठूलो पहिराका कारण बुटवल बजार नै जोखिममा परेपछि विज्ञको टोलीले अध्ययन गरेको थियो ।

राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समितिको सहजीकरण र सहयोगमा समितिका सदस्य तथा भू-विपद् विज्ञहरु डा सुस्मिता ढकाल, डा रञ्जनकुमार दाहाल, डा मनिता दाहाल र ई सञ्जय देवकोटा सम्मिलित टोलीले ज्योतिनगरको माथिल्लो भागमा रहेको श्रवन डाँडा क्षेत्रको पहिराको स्थलगत अध्ययन गरेका थिए । “कुनै पनि भिरालो जमिनमा सतही पानी र भूमिगत पानीको सही व्यवस्थापन नगरे त्यस्तो भिरालो जमिन असन्तुलित हुनपुग्छ, श्रवन डाँडाको पहिरालाई रोकथाम गर्ने पहिलो उपाय पनि सतही पानी र भूमिगत पानीको सही व्यवस्थापन नै हो”, विज्ञ टोलीको प्रतिवेदनमा उल्लेख छ ।

अधिकांश स्थानमा मूलहरुबाट बगेको पानी खोल्सा बनेर व्यवस्थित ढङ्गले बगेको हुन्छ तर यहाँ त्यस्तो छैन । मूलहरुबाट बगेको पानी अव्यवस्थित ढङ्गले जताततैबाट बगेका कारण यहाँ पहिरा गएको हो । यहाँ ६ वटा ठूला मूल छन् । विज्ञका अनुसार वर्षातका बेला आकाशबाट बगेको पानी भिरालो जमिन हुँदै खोल्साखोल्सीहरुमा जम्मा भएर बग्ने गर्छ तर यहाँ त्यस्ता खोल्साखोल्सी पनि छैनन् र भल काट्ने काम पनि भएको छैन । मूलको पानी, आकासे वर्षा र भूमिगत पानीको व्यवस्थापन नहुँदा यहाँ पहिरा गएको हो ।

गत भदौ महिनामा गएको पहिराका कारण चुरे क्षेत्र अहिले छियाछिया छ । यो वर्ष उपमहानगर-३ मा पर्ने ज्योतिनगरको माथिल्लो भागमा मात्रै करिब ७० हेक्टर क्षेत्रमा पहिरो गएको छ । यो भीमकाय पहिराका कारण श्रवन डाँडाको माथिल्लो भू-भाग नै बगेर सिधै बुटवल बजारतर्फ सोझिएको छ । यो क्षेत्रमा गत वर्षदेखि पनि पहिरो गएको थियो । विज्ञको टोलीले यहाँको भौगोलिक बनावटलाई व्याख्या गर्दै आफ्नो अध्ययन प्रतिवेदनमा लेखेको छ, “यो पहिरा चुरे पर्वत शृङ्खलाको तल्लो शिवालिक गु्रपअन्तर्गत पाइने मडस्टोन, स्यान्डस्टोन र मार्ल नामक चट्टानहरुले बनेको छ । यो भित्री चट्टानको माथिल्लो पत्रका रुपमा चिम्ट्याइलो माटो, सिल्ट र केही बालुवा मिसिएको माटो रहेको छ । यस्तो माटोलाई कोलुभिएम भनिन्छ र यो माटोमा वर्षाको पानी सजिलै छिरेर बग्न सक्ने हुन्छ ।”

श्रवन डाँडाको माथिल्लो भागमा कोलुभिएमको पत्र कम हुनु र चट्टान ठाडो फुट्ने प्रवृत्तिको भएकाले वर्षातको पानी सजिलै भित्र छिरेर तलबाट मूल फुटेर बग्ने गरेको भेटिएको भू-विपद् विज्ञ सुस्मिता ढकालले बताउनुभयो । उहाँका अनुसार यसपालिको मनसुनले रुपन्देहीमा प्रशस्त पानी परेका हुनाले श्रवन डाँडा क्षेत्रमा भएका पुराना मूलहरुमा प्रशस्त पानी बग्न थालेको र नयाँ मूल फुटेर पनि डाँडाको मध्य भागबाट यत्रतत्र बग्न थालेको भेटिएको छ । यसले गर्दा पहिरो बग्न थालेको र तल्लो भागमा पानी माटोभित्र छिरेको हुनाले भेल पहिरा बग्न थालेको देखिएको ढकालको भनाइ छ ।

माथिबाट खसेको बक्राकार स्खलन पहिराको तल्लो भागतिर ससाना पहिराले क्षणिक रुपले ड्याम बन्ने र विस्फोट हुने हुँदा ज्योतिनगर क्षेत्रमा भेल पहिरा आएको थियो । स्थलगत अध्ययनको सिलसिलामा लक्ष्मीनगरभन्दा माथि रहेको डाँडामा एउटा दुई मिटरभन्दा गहिरो र १२-२० मिटर लामो र पाँच मिटर चौडा पोखरी पनि बनेको देखिन्छ र यस्ता पोखरीहरु फुटेमा तल्लो क्षेत्रमा धेरै क्षति हुनसक्ने सम्भावना पनि छ, सो प्रतिवेदनमा उल्लेख छ । यसरी बगिरहेको पानीको सही व्यवस्थापन नगरेसम्म श्रवन डाँडाको पहिरा अति जोखिममा रहेको उनीहरुको भनाइ छ ।

प्रतिवेदनअनुसार ज्योतिनगरको पहिरो प्रभावित क्षेत्र पहिल्यै पहिचान भएको जोखिम क्षेत्र हो । तर यो विषय सबैलाई थाहा थिएन । २०३४/३५ सालमा तत्कालीन राजा वीरेन्द्रले यस क्षेत्रमा चुरे पहाड संरक्षणका लागि कार्यक्रम ल्याउन निर्देशन भएपछि भूताहा, चिसापानी, माकर तथा चिडियाखोला गाउँ पूरै बस्ती स्थानान्तरण गरिएको थियो । यो स्थानान्तरण गर्दा तामनगर र बर्दघाट क्षेत्रमा स्थानीयवासीलाई जग्गा उपलब्ध गराइएको थियो । तर सरकारले नयाँ ठाउँमा जग्गा उपलब्ध गराउँदा पुरानो ठाउँको जग्गा सरकारीकरण गरेन र जोखिम क्षेत्रको जग्गा पनि स्थानीयवासीका नाममा नै रहिरह्यो ।

बुटवलको सहरीकरण तथा आकर्षण बढेसँगै यो ठाउँको पहिरालाई स्थानीयवासीले पनि बिर्सिए । जोखिम हुँदाहुँदै पनि यहाँको जग्गा पनि किनबेच भयो । बिस्तारै बस्ती बस्यो । विभिन्न जिल्लाबाट बसाइँसराइ गरी आएकाहरुका घरहरु पहिरामा परेर पुरिए । २०५५ सालको पहिरामा २१ घर पुरिएका थिए भने ५७ घर प्रभावित भएका थिए । यो क्रम अहिले पनि दोहोरियो । यस पटक पनि करिब डेढ दर्जन घर पुरिए । ज्योतिनगरका धेरै घरमा ढुङ्गामाटोसहितको लेदो पस्यो ।

समस्याका कारण पत्ता लागेपछि त्यसको समाधान पनि निकाल्न सकिन्छ । यसका लागि सबैभन्दा पहिले पहिरो नियन्त्रणसम्बन्धी भ्रमहरु हटाउनु जरुरी रहेको अर्का विज्ञ डा रञ्जनकुमार दाहालले बताउनुभयो । उहाँका अनुसार पहिलो भ्रम के हो भने, अत्यधिक पहिराहरु मानव गतिविधिका कारण जाने गर्छन् तर हामी यो स्वीकार्न तयार हुँदैनौ । दोस्रो भ्रम समुदायले पहिरा नियन्त्रणका लागि केही गर्न सक्दैनन् भन्ने हो । अनि, सरकारी निकायले मात्र पहिरो नियन्त्रण गर्न सक्छ र गर्नुपर्छ भन्ने गलत बुझाइ हाम्रो समाजमा छ । तर वास्तवमा पहिरा नियन्त्रणमा समुदायको प्रमुख भूमिका हुन्छ । संरचना निर्माण गर्दा पनि सामान्य जनताको भूमिका महत्वपूणर् हुन्छ । त्यसैले पहिरा नियन्त्रणको सामान्य ज्ञान भएमा सर्वसाधारणले पनि पहिरा रोक्नमा ठूलो मद्दत गर्न सक्छन् ।

पहिरा नियन्त्रणमा तेस्रो भ्रम भनेको पहिरा रोक्न ठूला संरचना नै चाहिन्छन् भन्ने हो । अधिकांश पहिरा मानव गतिविधिका कारण जाने गर्छन् तर हामी यो स्वीकार्न तयार हुँदैनौँ । दोस्रो भ्रम समुदायले पहिरा नियन्त्रणका लागि केही गर्न सक्दैनन् भन्ने हो । अनि, सरकारी निकायले मात्रै पहिरा नियन्त्रण गर्न सक्छ र गर्नुपर्छ भन्ने गलत बुझाइ हाम्रो समाजमा छ । तर, वास्तवमा पहिरा नियन्त्रणमा समुदायको प्रमुख भूमिका हुन्छ । संरचना निर्माण गर्दा पनि सामान्य जनताको भूमिका महत्वपूणर् हुन्छ । त्यसैले पहिरा नियन्त्रणको सामान्य ज्ञान भएमा सर्वसाधारणले पनि यसलाई रोक्नमा ठूलो मद्दत गर्न सक्छन् ।

अधिकांश पहिरा समयको अवधिमा आफँै स्थिर भएको पनि देखिन्छ । यसैले, पहिरा समुदायको साधारण क्रियाकलाप पछि रोकिन्छन् वा नियन्त्रित हुन्छन् । चौथो भ्रम भनेको पहिराको नियन्त्रणमा खर्च गर्न बजेटमा प्राथमिकता नहुनु हो । पहिरा लगेको जमिनबाट कुनै आर्थिक लाभ हुँदैन भनेर बजेटको प्राथमिकतामा नपरेको हो । श्रवन डाँडाको पहिराका लागि पनि समुदायले प्रयास गरेको देखिन्छ । त्योबाहेक राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास कार्यक्रमअन्तर्गत केही पर्खाल निर्माणका काम भएका छन् । तर ती निर्माणका काममा भने त्रुटि भेटिएको छ । माथिल्लो भागमा बनाएको ग्याबियन पर्खाल सही तरिकाले बनेको नदेखिएकाले अब अध्ययन गरेर मात्रै पूर्वाधार निर्माण तथा संरचना निर्माणको काम गर्नुपर्ने विज्ञ डा ढकालको भनाइ छ । “यसअगाडि भएका पर्खाल निर्माणका काममा पानीको बहाव मिलाउन छुटेको देखिन्छ । गत साल नै बग्न थालेको पहिरामा सही तरिकाले न्यूनीकरणका प्रयास गरेको भए मात्र पनि यसपालि त्यति खतरनाक अवस्था हुने थिएन”, उहाँले भन्नुभयो ।

पहिराको आकार, गहिराइ र ढुङ्गा माटोको बनावटका आधारमा नियन्त्रण गर्ने प्रक्रिया पनि फरक फरक हुन्छन् । पहिरो गइसकेको छ भने त्यसको इतिहास, विकास, विस्तार र प्रकारका आधारमा नियन्त्रणका उपायहरुमध्ये ठीक प्रविधि छान्नुपर्ने हुन्छ । सामान्यतया वनस्पतिको उपयोग गरी नियन्त्रण गर्न सकिने पहिरा, सामान्य वनस्पतिका साथमा स-साना इन्जिनीयरिङ संरचना निर्माण गरी नियन्त्रण गर्न सकिने पहिरा, महँगो प्रविधि र ठूला संरचना निर्माण गरी नियन्त्रण गरिने पहिरा, सामान्यतया नियन्त्रण गर्न नसकिने पहिरा गरी चार प्रकारमा विभाजन गर्न सकिने विज्ञको भनाइ छ ।

यस क्षेत्रमा सतही तथा भूमिगत पानीको व्यवस्थापन नै पहिलो प्राथमिकता हुनुपर्ने देखिन्छ । यसका अलावा यस क्षेत्रको विस्तृत जोखिम नक्साङ्कन गर्ने, पहिरा र सामाजिक प्रभावको असर हेरेर नियन्त्रणको योजना बनाउने, हाल के कति पानी परेका कारण पहिरो गएको हो भन्ने पत्ता लगाउन हाइड्रोलोजिकल र हाइड्रोजियोलोजिकल अध्ययन गर्नुपर्ने, श्रवन डाँडा धेरै पानी पर्ने क्षेत्र भएकाले यहाँ वर्षा मापन केन्द्र राख्नुपर्ने, पहिराको भू-भौतिक सर्वे गरेर पहिराको अवस्था पत्ता लगाउनुपर्ने, अध्ययनका आधारमा सामान्य, मध्यम र ठूला इन्जिनियरिङ संरचना निर्माण गरी पहिरा नियन्त्रण गर्न सकिने अवस्थाको आङ्कलन गरेर आवश्यक महँगो प्रविधि र ठूला संरचना प्रयोग गरेर दिगो पहिरा नियन्त्रण कार्यक्रम सुरु गर्नुपर्ने विज्ञको सुझाव छ ।

यस क्षेत्रमा बन्न लागेका विभिन्न पूर्वाधार पार्क, बुद्धको मूर्तिजस्ता ठूला संरचना निर्माण गर्नुअघि विस्तृत अध्ययन आवश्यक देखिएको छ भने बुटवल उपमहानगरपालिकाले ल्याएको चक्रपथ योजनाको प्राविधिक अध्ययन आवश्यक छ । लक्ष्मीनगरभन्दा माथि रहेको डाँडामा भएको पोखरीको पानी उचित विधिबाट व्यवस्थापन गर्नुपर्ने देखिन्छ । यसको समयमा व्यवस्थापन भएन भने अर्को वर्ष थप क्षति हुनसक्ने अनुमान गरिएको छ ।

उपमहानगरपालिकाले जोखिम संवेदनशील भूउपयोग योजना निर्माण गरी कार्यान्वयन गर्न र पहिरो नियन्त्रणका उपायहरु कार्यान्वयन नगरुञ्जेलसम्म प्रभावित र जोखिम क्षेत्रमा थप आवास निर्माणका लागि स्वीकृति दिने काम तत्काल बन्द गर्नुपर्ने विज्ञको सुझाव छ । सरकारले एक पटक स्थानान्तरण गरिसकेको बस्ती पुनःबस्नु, जग्गा सट्टा दिएपछि साबिकका जग्गामा सरकारीकरण गरिनु तथा उक्त क्षेत्रमा बसोबासमा बन्देज लगाउनु उपयुक्त हुने थियो । यसो नगर्दा ज्योतिनगरमा २०५५ को पहिरा प्रभावितहरु तामनगरमा स्थानान्तरण गरिए पनि पुनः यहीँ आएर बस्ती बसाले । आगामी दिनमा यस्ता गल्तीहरु नदोहोरिनेतर्फ सजगता अपनाउनुपर्ने देखिन्छ ।

प्रारम्भिक अध्ययनपछि विज्ञहरुले दिएको सुझाबका आधारमा पहिरा नियन्त्रणका लागि राष्ट्रपति चुरे-तराई मधेस संरक्षण कार्यालय तथा स्थानीय तह र प्रदेश सरकारले योजना बनाउने छन् । पहिरा व्यवस्थापनका लागि मूलको पानी व्यवस्थापनको काम प्रदेश सरकारले गर्ने, थोरै लगानीमा हुनसक्ने काम बुटवल उपमहानगरपालिकाले गर्ने र ठूला संरचना निर्माणका लागि सरकारसँग थप बजेट माग गरेर काम अघि बढाइने राष्ट्रपति चुरे-तराई मधेश संरक्षण कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयका प्रमुख अजय कार्कीले जानकारी दिनुभयो । “पहिरा व्यवस्थापनका लागि एउटै निकायबाट सम्भव छैन, प्रदेशका मुख्यमन्त्रीसहित मातहतका कार्यालयसँग बैठक बसेर कसले के गर्ने भन्ने योजना बनाएका छौँ, सोही आधारमा काम हुन्छ”, उहाँले भन्नुभयो ।

पहिरा नियन्त्रण तथा व्यवस्थापनका लागि यो वर्ष रु दुई करोड बराबरको बजेट छुट्याइएकाले साना पूर्वाधार निर्माणका काम गरिने राष्ट्रपति चुरे-तराई मधेस संरक्षण कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयले जनाएको छ । “चुरे क्षेत्रको पहिरा भएकाले यससँग सम्बन्धित योजना बनाउँदा बिना अध्ययन सम्भव नभएकाले विज्ञको अध्ययन प्रतिवेदन पर्खिएका हौैँ, अब योजना बनाएर काम सरु गर्छौं,” बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले भन्नुभयो । ज्योतिनगरको पहिरा व्यवस्थापनका लागि स्थानीय तहको स्रोतले मात्रै नभ्याउने भएकाले प्रदेश र सङ्घीय सरकारको समेत ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड