१० देखि ५० प्रतिशतसम्म भाडा छुट हुने सार्वजनिक यातायात सुरु ! — OSNepal

१० देखि ५० प्रतिशतसम्म भाडा छुट हुने सार्वजनिक यातायात सुरु !

LC (KTM) December 07, 2021 0

उदयपुर, २० मंसिर -उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले सर्वसाधारणको सुविधाका लागि खरिद गरेको बस सञ्चालनमा ल्याएको छ । जनप्रतिनिधिले आफू चढ्ने सुविधाका लागि आएको यातायात खरिद बापतको रकमबाट सार्वजनिक बस सञ्चालनमा ल्याइएको हो ।

जनप्रतिनिधिको सुविधा नागरिकको सेवाका लागि लगानी गरी बस खरिद र सञ्चालन गरिएको पालिका अध्यक्ष मेजरकुमार राईको भनाई छ । ‘हामीले चढ्ने गाडी किन्ने पैसाले जनताका लागि सार्वजनिक बस किन्यौं,’ अध्यक्ष राईले भने, ‘जनताको सेवा नै हाम्रो जिम्मेवारी हो ।

पालिकाले खरिद गरेको एउटा बस चल्न थालेपछि सदरमुकाम गाईघाटदेखि लिम्चुङबुङको केन्द्र बराहस्थित राईचोकसम्म ‘रुट पर्मिट’ समेत तोकिएको छ । पालिका अध्यक्ष राईका अनुसार लिम्चुङबुङदेखि गाईघाट सम्मको दूरी ६५ किलोमिटर छ । सो रुट अन्तर्गत सञ्चालन हुने सार्वजनिक बसमा सवार बृद्धबृद्धा, अशक्त, अपाङ्ता भएकाहरूलाई आधा अर्थात् ५० प्रतिशत मात्र भाडा लिइने छ । त्यस्तै कृषक, उद्यमीहरूका लागि उत्पादन निर्यात तथा कच्चापदार्थ आर्यतमा २५ प्रतिशत भाडा छुट दिइने भएको छ ।

सो क्षेत्रका विद्यार्थीले पनि १० प्रतिशत छुट पाउने प्रमुख प्रशासकीय अधिकृत टार्जन लिम्बूले जानकारी गराए । उनका अनुसार हाल पालिकाको केन्द्रदेखि जिल्ला सदरमुकाम गाईघाटसम्मको ६५ किलोमिटर कच्ची सडक पार गर्दा ६ सय रुपैयाँ भाडा निर्धारण गरिएको छ ।

लिम्चुङबुङमा केही वर्ष अघि मात्र सडक पुगेको थियो । सडक बिस्तार भएदेखि हुने खाने वर्गले निजी साना सवारीसाधन चढ्ने भए पनि निम्न वर्गका नागरिकलाई सेवा दिन पालिकाकै लगानीमा सार्वजनिक बस खरिद गरिएको बताइएको छ ।

आफूले चढ्ने चार पाङग्रे सवारीसाधन खरिदका लागि आएको रकमले जनताका लागि सार्वजनिक बस किनेका पालिका जनप्रतिनिधिहरू स्वयं भने अहिले मोटरसाइकल प्रयोग गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर