बालिकाको जिब्रो सुन्निएर मुख बाहिर निस्किएपछि... — OSNepal

बालिकाको जिब्रो सुन्निएर मुख बाहिर निस्किएपछि…

LC (KTM) December 09, 2021 0

खोटाङ, २३ मंसिर – खोटाङकाे ऐसेलुखर्क गाउँपालिका-३ ऐसेलुखर्क दिम्मापातेलकी १६ वर्षीया सुस्मा तिवारीकाे जिब्राे सुन्निएर मुख बाहिर निस्किएको छ । सुन्निएर जिब्राेले अस्वभाविक आकार लिएपछि उनलाई खाना खान र बोल्नसमेत गाह्राे भएकाे बुवा दिनेश तिवारीले बताए ।

उनका अनुसार सुस्मा जन्मेको एक/डेढ वर्षको जिब्राे बढेर बाहिरै निस्कन पुगेको हो । जिब्राेमा देखिएका ससाना बिबिरा बढ्दै जाँदा उनको जिव्रो मुखभरीको बनेको परिवारले जनाएकाे छ । उनी स्थानीय त्रिभुवन माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत छिन् । सानैछँदा उपचारका लागि फाप्लु (सोलुखुम्बु) र काठमाडाैं पुर्‍याइए पनि रोग पत्ता नलागेकाे तिवारीले बताए । मुखबाट बाहिर निस्केको जिब्रोलाई उनले रुमालले ढाक्ने गरेकी छन् । बाहिर निस्केको जिव्रोबाट निरन्तर र्‍याल झर्छ । सुतेको ठाउँमा र्‍यालले सिरानी भिज्ने गरेको छ । उनी घरकी जेठो सन्तान हुन् ।

उपचार गर्न आर्थिक अभाव

सुस्माकाे उपचारका लागि परिवारलाई आर्थिक समस्या छ । कमजोर आर्थिक अवस्थाका कारण सुस्मालाई सुविधा सम्पन्न अस्पतालमा पुर्‍याएर उपचार गर्न नसकिएको दिनेश बताउँछन् । उनकाे उपचारका लागि सुनसरीमा सहयोग अभियान थालिएको छ । पुर्खौली थलो खोटाङ भइ हाल इटहरी बसिरहेका सविन भट्टराई (खत्री) र धुर्व अधिकारीको अगुवाईमा सुस्माको उपचार सहयोग अभियान थालिएको हो ।

नोबेल अस्पताल बिराटनगरका डा. आशिषलाल श्रेष्ठको परामर्शमा उनको जिब्राेको उपचारका लागि आर्थिक संकलन अभियान थालिएको अभियान्ता भट्टराईले बताए । ‘सुस्माका बारेमा जानकारी भएपछि ५ हजार खर्च पठाएर इटहरीमा बोलायौँ । नोबेलमा लगेर देखायौँ,’ भट्टराईले भने, ‘डा. आशिषलाल श्रेष्ठले ६/७ लाख खर्च जम्मा गरेर केएमसी लैजाने परामर्श दिनु भएको छ । उपचार गर्दा निको हुने जानकारी पाएका छौँ ।’ सुस्माको उपचारका लागि एक लाख सहयोग जम्मा भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर