मन्त्री भनाउन नरुचाउने रानाले जनजातितर्फ गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा — OSNepal

मन्त्री भनाउन नरुचाउने रानाले जनजातितर्फ गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

LC (KTM) December 11, 2021 0

काठमाडौं, २५ मंसिर -नेपाली कांग्रेस पाल्पाका निवर्तमान सभापति वीरबहादुर राना यतिबेला लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ हुन् । तर मन्त्री रानाले आफूलाई आफ्ना नेता, कार्यकर्ताका बीचमा पुगेर मन्त्रीका रूपमा नभई दाजुभाइका हिसाबले सम्बोधन गर्न आग्रह गर्ने गर्छन् ।

‘म सधैंका लागि मन्त्री बनेको होइन, निश्चित समयका लागि हो,’ उनले भन्ने गर्छन्, ‘तर दाजुभाइ भन्ने कुरा समाजमा सधैका लागि सम्बोधन हुनेछ ।’
वयोवृद्ध, पाकापुस्ताहरूसँग पुगेर म हजुरको भाइभतिजा, छोरासरह हुँ भन्दै आशीर्वाद लिएका रानाले सम्मान कार्यक्रममा पुग्दा पनि मन्त्री नभन्न आग्रह गर्दै आएका छन् । रानाले मन मिल्नेहरूसँग बसेर काम गर्ने र जनताको माझमा पुग्ने भएकै कारण आफूलाई सबैले विश्वास गर्ने गरेको बताउने गर्छन् । रानाले मन्त्री भइसकेपछि विकास निर्माणका साथै सामाजिक रूपमा पछि परेकाहरूसँग पुगेर समस्या बुझ्ने गर्छन् ।

उनै रानाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेसका युवा नेता तथा प्रखर वक्ताका रूपमा परिचित रानाले पाल्पा र बुटवलमा पत्रकार सम्मेलन गरी आदिवासी जनजातीतर्फ खुला केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेदवारी घोषणा गर्दै रानाले पार्टीलाई विधि, पद्धति, नीति नियम तथा अनुशासनको लाइनमा हिँडाउने प्रयास गर्ने बताए । सबैको समान पहुँच र अधिकार स्थापित गर्न आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको उनले बताएका छन् ।

कांग्रेस पार्टीको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ हुँदै वडा तहबाट जिम्मेवारी निभाउँदै आएका रानाले आउँदो महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार बन्ने घोषणा गरेको बताए । राना यसअघि दुई कार्यकालसम्म पाल्पा जिल्लाको पार्टी सभापति भई काम गरेका थिए । समग्र लुम्बिनी प्रदेशको विकास पद्धतिमा लैजान, जिल्लाको विकासलाई प्रभावकारी बनाउन, पार्टी पद्धति संस्कारयुक्त बनाउन, राजनीतिक दलमा देखिएको वितृष्णा हटाउन पनि आफ्नो उम्मेद्वारी रहेको उनले बताए ।

विद्यार्थी राजनीति हुँदै काँग्रेसको राष्ट्रिय मगर संघको केन्द्रीय संयोजक भएका रानाले व्यक्तिवादी राजनीतिको अन्त्य गरी संस्थागत विधिको विकासका लागि आफ्नो उम्मेदवारी गरेको बताए । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका रानाले पार्टीको संस्थागत विकास गर्न र परिणाममुखी कार्यका लागि आफू केन्द्रीय सदस्य बन्नुपर्ने बताए । जिल्ला र प्रदेशमा आफूले गरेको कामले पनि नेता कार्यकर्ताको सल्लाह अनुसार नै केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निर्णय गरेको रानाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर