गहुँ छर्ने बेला मलको व्यापक अभाव, किसान चिन्तामा — OSNepal

गहुँ छर्ने बेला मलको व्यापक अभाव, किसान चिन्तामा

LC (KTM) December 13, 2021 0

जनकपुरधाम, २७ मंसिर -गहुँबाली लगाउने बेला रायासनिक मल नपाउँदा धनुषासहित यस क्षेत्रका किसान मारमा परेका छन् ।प्रदेश २ का जिल्लाहरूमा धानबाली भित्र्याएपछि गहुँ बाली लगाइन्छ । तर प्रत्येक वर्ष गहुँको बीउ छर्ने वेलामा आवश्यकताअनुसारको मल पाउन सकिरहेका छैन ।

मागअनुसारको मल नपाएपछि गहुँको उत्पादन कम हुने हाे कि भन्ने चिन्तामा किसान छन् । धानबाली भित्र्याएर गहुँ छर्ने तयारीमा रहेका धनुषाको हंशपुरका शैलेन्द्र मुखियाले मल नपाएपछि निराश भएका छन् । उनले भने, ‘मलका लागि गाउँको डिलरदेखि जनकपुरधामस्थित कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालयसम्म पुगे, तर कहीँ मल पाउन सकिनँ । मल नै पाएपछि गहुँ खेती कसरी गर्ने भन्ने तनाव भएको छ ।’

कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरले केन्द्रले मागअनुसारको मल उपलब्ध नगराउँदा मलको अभाव हुँदै आएको जनाएको छ । ‘वर्षेनी मलको माग बढ्दै गएको छ,’ कृषि सामग्री लिमिटेड जनकपुरका प्रमुख रामकुमार चौधरीले भने, ‘केन्द्रले सोअनुसारको मल उपलब्ध नगराउँदा यहाँका किसानले समस्या भोग्दै आएका छन् ।’

गत आर्थिक वर्ष ०७७-७८ मा कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरले ६ हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डीएपी मल माग गरेकोमा तीन हजार दुई सय मेट्रिक टन युरिया र चार हजार पाँच सय मेट्रिक टन डिएपी मात्रै केन्द्रले उपलब्ध गराएको थियो ।

चालू आर्थिक वर्षमा पाँच हजार मेट्रिक टन युरिया र चार हजार पाँच सय मेट्रिक टन डीएपी मलको लक्ष्य रहे पनि अहिलेसम्म केन्द्रले दुई हजार नाै सय पाँच मेट्रिक टन युरिया र एक हजार ६ सय २७ मेट्रिक टन डीएपी मात्रै उपलब्ध गराएकोमा दुई हजार तीन सय ५० मेट्रिक टन युरिया, एक हजार पाँच सय ८५ मेट्रिक टन डीएपी बिक्री भइसकेको उनले बताए । पाँच सय ५५ मेट्रिक टन युरिया र ४२ मेट्रिक टन डीएपी अहिले गोदाममा मौज्दात रहेको उनले बताए । कृषि ज्ञान केन्द्र धनुषाका अनुसार धनुषामा ४० हजार हेक्टर जमिनमा गहुँ खेती हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर