कांग्रेस सभापति मतगणना : ४१७४ मत गन्दा १९९५ मतले देउवा अगाडि, अब ५०० मत गन्न बाँकी — OSNepal

कांग्रेस सभापति मतगणना : ४१७४ मत गन्दा १९९५ मतले देउवा अगाडि, अब ५०० मत गन्न बाँकी

LC (KTM) December 14, 2021 0

काठमाडौँ, २८ मङ्सिर-नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको पछिल्लो मतपरिणामअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता कायमै राख्नुभएको लग्नुभएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार चार हजार १७४ मत गणना हुँदा सभापति देउवाले १,९९५, सभापतिका अरु उम्मेदवारहरू क्रमशः डा शेखर कोइरालाले १,५४२, प्रकाशमान सिंहले २५७, विमलेन्द्र निधिले २०१ र कल्याण गुरूङले १७ मत प्राप्त गर्नुभएको छ ।

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ । पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ । पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । तर पहिलोपटक नै दुई जना मात्र उम्मेदवार भएमा बढी मत ल्याउने उम्मेदवार विजयी हुने विधानमा व्यवस्था छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो । अन्य पदको मतगणना भने सभापति पदको मतगणनापछि पार्टी केन्द्रीय कार्यालयमा गरिने बताइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर