लामाटार सडक ९५ प्रतिशत सकियो — OSNepal

लामाटार सडक ९५ प्रतिशत सकियो

LC (KTM) December 14, 2021 0

काठमाडौँ, २८ मङ्सिर -बिस्तारको क्रममा रहेको इमाडोल–लामाटार सडक निर्माण अन्तिममा पुगेको छ । झण्डै पाँच वर्ष पहिले निर्माण शुरु भएको सो सडकमा झण्डै ९५ प्रतिशत सकिएको छ । सडकमा अहिले अन्तिम काम मात्रै बाँकी रहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । डिभिजन सडक कार्यालय ललितपुरले गोदावरी पुल नजिकै निर्माण गर्नुपर्ने भएपनि नगरेकाले अहिले आयोजनाले नै गरिरहेको छ । पहिले घर भत्काउन बाँकी भएकाले निर्माण अघि बढ्न सकेको थिएन भने अहिले सो स्थानमा घर भत्किसकेको छ । उहाँले भन्नुभयो, “निर्माणस्थल खाली भइसकेकाले अहिले काम भइरहेको छ ।”

विगतका आर्थिक वर्षमा स्थानीयवासीको अवरोधका कारण सडक निर्माण अघि बढ्न सकेको थिएन । दुई वर्ष पहिले सरकारले विस्तारका सबै सडक उपलब्ध चौडाइमा कालोपत्र गर्ने निर्णय गरेपछि सडक निर्माण अघि बढेको हो । तीन वर्ष पहिले २० मिटर चौडाइ कायम गर्ने गरी ठेक्का सम्झौता भए पनि अहिले त्योभन्दा कम चौडाइमा कालोपत्र भइरहेको आयोजनाले जनाएको छ । सडकको चौडाइ कम भएकै कारण पैदल यात्रुमार्ग, नालीलगायतका पूर्वाधारसमेत निर्माण हुन सकेको छैन । सो सडक कृष्ण मन्दिरबाट गोदावरी खोलासम्म मात्रै २० मिटर कायम भएको छ । त्यसभन्दा अघि मापदण्डको आधाभन्दा कम चौडाइमा निर्माणको काम भएको छ । उपलब्ध चौडाइमा निर्माण गर्दा बजार क्षेत्रमा चौडाइ अति कम छ ।

आयोजनाले तीन ठेक्कामा सो सडक निर्माण अघि बढाएको थियो । डाँफे–समानान्तर जेभी, आशिष सिएम ड्रागन जेभी तथा लामा र समानान्तर जेभीसँग फरकफरक समयमा ठेक्का सम्झौता भएको थियो । एउटा ठेक्का सम्झौता विसं २०७३ र दुई ठेक्का विसं २०७४ मा भएको थियो । आयोजनाले उपत्यकाका दश सडकमा विस्तारको काम गरिरहेकामा अहिलेसम्म दुई सडक मात्रै सम्पन्न भएका छन् । शुरुका वर्षमा जग्गा प्राप्त हुन नसक्दा सडक निर्माण सुरु हुनै सकेको थिएन । उपलब्ध चौडाइमा कालोपत्र गर्ने सरकारको निर्णयपछि अहिले अधिकांश सडक अन्तिम चरणमा छन् । आयोजनाले नयाँ सडकमा विस्तारको योजना नबनाएर निर्माणाधीन सडकमा कालोपत्र सकाएर ठेक्का अन्त्य गर्ने योजना बनाएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर