तेह्रकुने पोखरीको प्रचारका लागि चार दिने महोत्सव — OSNepal

तेह्रकुने पोखरीको प्रचारका लागि चार दिने महोत्सव

LC (KTM) December 14, 2021 0

इलाम, २८ मंसिर -भौगोलिक र जैविक विविधताको दृष्टिकोणले संवेदनशील मानिएको चुरे क्षेत्रमा संरक्षण गरिएको तेह्रकुने सिमसार क्षेत्रको प्रचार प्रसारको लागि महोत्सव आयोजना गरिने भएको छ । सामुन्द्रिक सतहबाट पाँच सय मिटर फिटको उचाइमा रहेको इलामको माई नगरपालिका–१ को तेह्रकुने सिमसार सिमसार क्षेत्रको प्रचारको लागि चार दिने महोत्सव आयोजना गरिएको हो ।

पुस ८ गतेदेखि ११ गतेसम्म चल्ने महोत्सवका बारेमा आयोजकले सोही स्थानमा पत्रकार भेटघाट गरेर जानकारी दिएका छन् । चुरे क्षेत्रमा संरक्षण गरिएको पोखरी जैविक र पर्यावरणीय दृष्टिले महत्त्वपूर्ण रहेको महोत्सव आयोजक समितिका अध्यक्ष केहरसिं राईले बताए ।

‘चुरे क्षेत्रभित्र यो उचाईमा यति ठूलो पोखरी छैन, यसले चुरे क्षेत्रमा पानीको रिचार्ज ट्याङ्कको रूपमा काम गरेको छ’, राईले भने,‘भौगोलिक रूपले पनि यो पोखरी रमणीय छ, जैविक विविधता र पर्यावरणीय रूपमा पनि यसको निकै महत्त्व छ ।’ अहिलेसम्म खासै चर्चामा नरहेको तेह्रकुने पोखरी स्थानीय र सरकारको सहभागी तामा संरक्षण थालिएको हो ।

पोखरीको संरक्षणको लागि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, वन मन्त्रालय र जलाधार व्यवस्थापन कार्यालय उदयपुरले लगानी गरेका छन् । सिमसार क्षेत्रको पुनरुत्थानमा अहिलेसम्म ४० लाख रुपैयाँ लगानी गरिसकेका छन् ।

सिमसार क्षेत्रको लागि अहिलेसम्म एक सय रोपनीभन्दा बढी जग्गा व्यवस्थापन भइसकेको तेह्रकुने सिमसार क्षेत्रका सचिव गोविन्द सोताङले बताए । ३५ रोपनी जग्गामा फैलिएको पोखरी इलामको पर्यटकीय रुटको गन्तव्य हुने सोताङ बताउँछन् ।

‘भर्जिन ल्याण्ड’कै रूपमा रहेको चुरे क्षेत्रको पर्यटकीय सम्भावना बोकेको तेह्रकुने सिमसार क्षेत्रको विकासको लागि स्थानीयकै अग्रसरतामा डिपिआर समेत भइसकेको छ । डिपिआरमा बालबालिका देखि वृद्धवृद्धासम्मको लागि छुट्टाछुट्टै उद्यान बनाउने, आकाशे पुल, भ्यु टावर र पोखरीलाई सिँगार्ने योजना रहेको सोताङले बताए ।

सिमसार क्षेत्रको व्यवस्थापनसँगै त्यहाँ आउने पर्यटकको व्यवस्थापनको लागि होमस्टे चलाउने र स्थानीय परिकार चखाउने योजना रहेको सिमसार क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष केहरसीङ राईले बताए । ‘तेह्रकुनेलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकियो भने यहाँका उत्पादनले बजार पाउँछन्, रोजगारीको अवसर हुन्छ र यही क्षेत्रका बासिन्दाको आर्थिक हैसियत उठाउन सकिएला भन्ने विश्वास छ’, उनले भने ।

तेह्रकुने सिमसार क्षेत्रको प्रचार प्रसारको लागि आयोजना गरिएको महोत्सवमा १६ देखि २० हजार आन्तरिक पर्यटक भित्र्याउने आयोजकको लक्ष्य छ । महोत्सवपछि तराईका जिल्लाबाट आवागमन बढ्ने अपेक्षा रहेको स्थानीय विष्णु राई बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर