शे–फोक्सुण्डोमा गर्भवतीको निःशुल्क स्वास्थ्य परीक्षण — OSNepal

शे–फोक्सुण्डोमा गर्भवतीको निःशुल्क स्वास्थ्य परीक्षण

LC (KTM) December 15, 2021 0

जाजरकोट, २९ मङ्सिर- उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाको रिग्मोगाउँमा गर्भवतीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । फोक्सुण्डो ताल छेउमै रहेको रिग्मोगाउँका महिलाले पहिलोपटक घर छेउमै स्वास्थ्य परीक्षण गराएका हुन् । डोल्पाको टासिडी नामक संस्थाको सहकार्यमा, बोदिसतो बिहार र कान्छीमाया तामाङ फाउण्डेशनले सो सेवा उपलब्ध गराएको हो । गर्भवती हुँदा स्वास्थ्य परीक्षण गराउनसमेत नपाउने उपल्लो डोल्पामा महिलाले पहिलोपटक घर नजिकै स्वास्थ्य परीक्षणको सुविधा पाएको कान्छीमाया तामाङ फाउण्डेशनका अध्यक्ष दिलबहादुर तामाङले बताउनुभयो ।

आँगनमै आएर सेवा दिनेलाई धन्यवाद दिँदै पहिलोपटक उपचार पाउँदा खुशीको सीमा नरहेको साङमु रोकायाको भनाइ छ । उहाँले भन्नुभयो, “गर्भवती हँुदा भिडियो एक्सरेका लागि दुई दिन हिँडेर सदरमुकाम दुनै जानुपर्ने बाध्यता थियो, टाढा भएकाले कहिले गएका थिएनौँ ।” तामाङका अनुसार ४० गर्भवती महिलाको भिडियो एक्सरे र ग्यास्ट्रिक, पाठेघर खसेका, घुँडा दुख्नेजस्ता रोगका बिरामी गरी १५० जनाको उपचार गरिएको छ ।

बोदिसतो बिहार, कान्छीमाया तामाङ फाउण्डेशनले करिब रु तीन लाखको भिडियो एक्सरे मेसिन रिग्मो स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेको छ । फोक्सुण्डोका गर्भवतीलाई अब दुनै आउनुपर्ने बाध्यता हटेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर