सतर्कता अपनाउँदै ‘सुनौलो हजार दिनभित्रका आमासँग उपाध्यक्ष’कार्यक्रम — OSNepal

सतर्कता अपनाउँदै ‘सुनौलो हजार दिनभित्रका आमासँग उपाध्यक्ष’कार्यक्रम

LC (KTM) January 22, 2022 0

खलङ्गा, ८ माघ -जुम्लाको तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढा कोरोनाको बढ्दो सङ्क्रमणलाई सतर्कता अपनाउँदै जनताको सेवामा अग्रसर हुनुभएको छ । ‘सुनौलो हजार दिनभित्रका आमासँग उपाध्यक्ष’कार्यक्रमसहित तिलाका गाउँबस्तीमा पुगेर महिलाका समस्यादेखि सुनौला हजार दिनका आमालाई चाहिने आवश्यक पोषण र पोषिलो खानाको महत्वबारे वडा र बस्तीमा सचेतना कार्यक्रममा लागिपरेको उहाँले बताउनुभयो ।

“पालिकाका नौवटै वडामा बहुक्षेत्रीय पोषण कार्यक्रम लागू भएको छ । गाउँबस्तीमा पुगेर जनताको सेवा गर्ने मेरो कर्तव्य हो,” उपाध्यक्ष बुढाले भन्नुभयो, “कोरोनाको बढ्दो सङ्क्रमणलाई ध्यानमा राखी पालिकाका स्वास्थ्यकर्मी लिएर उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँ बस्तीमै पुगिरहेको छु ।” आमासँग उपाध्यक्ष कार्यक्रमले यहाँका महिलालाई पोषण र पोषिलो खानेकुराका लागि निकै राहत पुगेको तिला गाउँपालिका–७ की लक्ष्मी रोकायाले बताउनुभयो । सो कार्यक्रमले स्वास्थ्यचौकीमा सुत्केरी गराउनेको सङ्ख्या बढेको छ । स्वास्थ्यकर्मीसहित उपाध्यक्ष गाउँमै पुगेर सुत्केरी महिलाको अवस्थाबारे बुझ्नुहुन्छ र सुनौला हजार दिनका आमालाई चाहिने आवश्यक पोषण र पोषिलो खाना बोकेर घरदैलोमै उहाँ पुग्ने गरेको सोही वडाकी दुर्गा रोकायाले बताउनुभयो ।

‘‘पहिलो वर्ष फिल्टर बाड्यौँ । दोस्रो वर्ष अण्डा, तेल र साबुन बाँड्यौँ । तेस्रो वर्ष पोषिलो कोशेली लिएर गाउँ पुगेका छौँ ।” उपाध्यक्ष बुढाले भन्नुभयो, “एकोहोरो सरकारले बाँडेर मात्र नहुँदो रहेछ । अब गर्भवती तथा सुत्केरी आमालाई आफैँले पोषिलो खानेकुरा बनाउनका लागि अझै गाउँगाउँमा पुगिरहेका छौँ । पोषिलो कोसेलीस्वरुप धान उत्पादन नहुने क्षेत्रमा स्थानीय जातको मार्सी चामल, धान उत्पादन हुने क्षेत्रमा चना दिएका छौँ । त्योसँगै बच्चालाई न्यानो कपडा, तोरीको तेल र सुनौलो हजार दिनभित्रका आमाको पहिचान दिलाउने झोला प्रदान गरेका छौँ ।” आमा र बच्चाको पोषण अवस्था सुधार गर्न आमालाई जिम्मेवार बनाउनुपर्छ भन्ने सुझावसहित यो वर्ष सचेतना फैलाउन गाउँमै पुगेको उहाँको भनाइ थियोे ।

सुरक्षितरूपले सुत्केरी हुन अनिवार्य स्वास्थ्य संस्थामा जानुपर्ने, नियमित जाँच गर्दै खानपानमा ध्यान दिनुपर्ने,बच्चालाई नियमित स्तनपान गराउँदै पोषिलो खानेकुरा खुवाउनका लागि हरेक आमा तयार हुनुपर्नेजस्ता सन्देश दिइएका छाँै । प्राङ्गारिक सिमी, फापर बेचेर मैदा किनेर रोटी बनाएर खुवाउने गरिन्छ, यो कार्य पटक्कै राम्रो भएन आफ्नै खेतबारीमा उत्पादित प्राङ्गारिक र पोषिलो खानेकुरा खुवाउनुपर्छ । यहाँ उत्पादित अन्नबाली मिसाएर बनाएको लिटो जाउलोको प्रयोग गर्नुपर्छ भन्ने सन्देश बोकेर गाउँका महिलाई सचेत गराइउको उपाध्यक्ष बुढाले बताउनुभयो ।

सुनौलो हजार दिनभित्रका आमालो पोषणको महत्वबारेमा निकै संवेदनशील हुनुपर्ने जिल्ला स्वास्थ्य चौकीका इञ्चार्ज बिराजु जिसीले बताउनुभयो ।
“असी प्रतिशत दिमागको विकास दुई वर्षभित्र हुन्छ । यो बेला पोषिलो आहार र सुरक्षित स्तनतपानको जरुरत पर्छ । स्तनपान र पोषणबारे गर्भवती तथा सुत्केरी आमा जानकार हुनुपर्छ ।” उहाँले भन्नुभयो, “स्थानीयस्तरमा उत्पादन हुने गेडागुडी, माछामासु, अण्डाजस्ता पोषिलो खानेकुराको प्रयोग गर्न अत्यावश्यक छ । आमा र बच्चा सुपोषित हुनुपर्छ । कुपोषणको चक्र तोड्नुपर्छ । अनिमात्र हाम्रो गाउँबस्ती समाज स्वस्थकर रहन्छ ।”

गाउँपालिकाको बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत हरेक वडामा सुनौलो हजार दिनभित्रका आमासँग भेटघाट र पोषिलो खानेकुराको महत्वका बारेमा सहजीकरण गर्न थालिएको पोषण सहजकर्ता जसुकला रावतले जानकारी दिनुभयो । जबसम्म महिला सचेत हुँदैनन्, तबसम्म कुपोषणको चक्र तोड्न नसकिने भएकाले गाउँपालिकाले ल्याएको कार्यक्रम निकै समयानुकूल भएको महिला स्वास्थ्य स्वयंसेविका गोइली बुढाले बताउनुभयो । पालिकाभित्रका सुनौलो हजार दिनभित्रका आमाको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर पोषणको महत्वका बारेमा सहजीकरण गरिएको छ । कुपोषणबाट आफू बच्न र बच्चालाई समेत बचाउनका लागि आग्रह गरिएको गाउँपालिकाको बहुक्षेत्रीय पोषण शाखाले जनाएको छ ।

ज्येष्ठ नागरिकलाई सम्मान
तिला गाउँपालिकाको महिला तथा बालबालिका शाखाले वडा नं १ र ५ का ज्येष्ठ नागरिकको स्वास्थ्य जाँचसहित सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताउनुभयो । जाडोबाट बच्नका लागि ज्येष्ठ नागरिकलाई टोपी र हर्लिक्स प्रदान गरिएको हो । पालिकाका सबै वडाका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँचसहित सम्मान कार्यक्रम रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर