नेपाली सेनाकी एक जवानले गरिन् रगत दिएर सुत्केरीको जीवन रक्षा — OSNepal

नेपाली सेनाकी एक जवानले गरिन् रगत दिएर सुत्केरीको जीवन रक्षा

LC (KTM) June 03, 2021 0

धनुषा – कोरोना सङ्क्रमणको दोस्रो लहरको कारण ब्लड बैंक जनकपुरधाममा रगतको अभाव भएको बेला नेपाली सेनाका एक महिला सैनिक जवानले रगत दिएर एक सुत्केरीको जीवन रक्षा गरेकी छन् । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका—२ बस्ने रीनादेवी गुप्ता सुत्केरी हुने क्रममा शरीरबाट अत्यधिक रक्तस्राव भई गम्भीर अवस्थामा श्रीराम अस्पतालमा उपचारार्थ रहेकी थिइन् ।

रगत नपाएर निराश भएको अवस्थामा सेनाको धनुषाको महेन्द्रनगरस्थित श्रीनाथ गणमा कार्यरत सैनिक जवान मनिका तामाङ्गले रगत दिएर ती महिलाको ज्यान जोगाउनु भएको हो । समयमा सुत्केरीलाई रगत उपलब्ध नभएको भए ज्यान जाने खतरा रहेको बेलामा नेपाली सेनाले गरेको रक्तदानको अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले प्रशंसा गरेका छन् ।

हतियारसहित दुई पक्राउ:- धनुषामा हतियारसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार धनुषाबाट कटुवा पेस्तोलसहित दुई युवक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धनुषाको सहिद नगर नगरपालिका–२ बस्ने २५ वर्षिय उत्तिमलाल पासवान र १९ वर्षिय निपुल यादव रहेका छन् ।उनीहरुलाई बुधबार साँझ यदुकोहाबाट भारतको महिनाथपुर जाने क्रममा प्रहरी चौकी तिनकौरियादेखि ५०० मिटर उत्तरमा विशेष सूचनाको आधारमा जाँच गर्दा कटुवा पेस्तोलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको बताइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर