कारबाहीको निर्णय भएपछि बतासले बुझायो पशुपति धर्मशालाको एक करोड भाडा — OSNepal

कारबाहीको निर्णय भएपछि बतासले बुझायो पशुपति धर्मशालाको एक करोड भाडा

LC (KTM) January 27, 2022 0

काठमाडौं । सरकारले सम्झौता खारेजीको प्रक्रिया अगाडि बढाएसँगै पशुपति धर्मशालामा होटेल सञ्चालन गरिरहेको होटेल आनन्द प्रालि ९बतास समूह०ले झन्डै एक करोड भाडा बुझाएको छ । पर्यटन मन्त्रालयले गठन गरेको छानबिन समितिले होटेलले करिब एक वर्षको ९९ लाख ८४ हजार ६ सय ६६ रुपैयाँ भाडा असुलउपर गर्न बाँकी रहेको औँल्याएको थियो ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा २३ पुसमा गठित छानबिन समितिले ३ माघमा संस्कृति मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो । बुधबार उक्त रकम कोषको खातामा जम्मा भएको कोषाध्यक्ष सुवेदीले जानकारी दिए । ‘असुलउपर गर्न बाँकी रकम कोषको खातामा जम्मा भएको छ, भौचर पनि कार्यालयमा आएको छ,’ उनले भने ।

छानबिन प्रतिवेदनमा छ, ‘धर्मशाला प्रयोग गरेबापत मासिक आठ लाख ७८ हजार चार सय ६८ रुपैयाँ र वार्षिक एक करोड पाँच लाख ४१ हजार ६ सय १८ रुपैयाँ कायम गरेकोे, सम्झौता हाल १० वर्षको हुने र पछि पाँच वर्ष थप गर्ने उल्लेख छ । धर्मशालाबाट कोषले भुक्तानी पाउनुपर्ने भाडा करिब एक वर्षदेखिको ९९ लाख ८४ हजार ६ सय ६६ रुपैयाँ बाँकी देखिन्छ ।’नयाँ पत्रिकामा खबर छ ।

कोभिड– १९ महामारी अवधिमध्येको भाडा मिनाहाका लागि आनन्दले कोषसँग माग गर्दै आएको थियो । तर, पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को स्वीकृतिविना नै धर्मशाला लिजमा दिइएको छानबिनबाट खुलेपछि सरकारले सम्झौता खारेजीको प्रक्रिया अगाडि बढाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर